क्यान्सरपीडित खुसीरामलाई एक लाख बढीको सहयोग

0
Shares

नेपाल समाचारपत्र, लमजुङ
लमजुङका एक क्यान्सरपीडित वृद्धको उपचारका लागि बेलायतमा बसोबास गर्दै आएका लमजुङेहरूले आर्थिक सहयोग गरेका छन््। मस्र्याङ्दी गाउँपालिका–६ लाम्पाटाका ६८ वर्षीय खुसीराम रिमाललाई बेलायतबाट आर्थिक सहयोग प्राप्त भएको हो।

रिमाल आन्द्राको क्यान्सरबाट पीडित हुनुहुन्छ। उहाँलाई बेलायतमा बसोबास गर्दै आएका बाघेता समाजमा आबद्ध लमजुङेहरू १९ जनाले आर्थिक सहयोग गर्नुभएको हो। संकलित १ लाख १५ हजार ४ सय रुपियाँँ समाजका सदस्य तेज घले, सोही वडाका अध्यक्ष लीलाप्रसाद घले, खुसीराम रिमाल बचाउ अभियानका अभियन्ता गुणराज खत्री, स्थानीय विनोद गुरुङलगायतले उक्त रकम घरमै पुगेर रिमाललाई प्रदान गर्नुभएको हो।

रकम हस्तान्तरणपछि बाघेता समाज यूकेका सदस्य तेज घलेले खुसीरामलाई आन्द्राको क्यान्सर भएको र आर्थिक समस्याका कारण उपचारमा समस्या भएको विभिन्न सञ्चारमाध्यमबाट थाहा पाएपछि बेलायतमा लमजुङेबाट रकम संकलन थालिएको बताउनुभयो। उहाँले थप सहयोगको खाँचो परेको खण्डमा समाज सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो।

गत कात्तिक २६ गते एक्कासि पेट दुख्न थालेपछि खुसीरामलाई जिल्ला सामुदायिक अस्पताल उपचारका लागि ल्याइएको थियो। अस्पतालमा उपचार हुन नसकेपछि भरतपुर अस्पताल लगिएको थियो। स्वास्थ्य जाँचको क्रममा आन्द्राको क्यान्सरको पहिचान भएको रिमाललका भतिज निरबहादुर रिमालले बताउनुभयो। श्रीमान्को उपचारमा २ लाख रुपियाँ बढी खर्च भएको छ। अहिलेको सहयोग रकमले ऋण तिर्ने र औषधीमा खर्च गरिने उहाँकी श्रीमतीले बताउनुभयो। खुसीरामको उपचारका गाउँ, जिल्ला तथा बाहिरी जिल्लामा रहेका स्थानीयबाट यसअघि ७७ हजार रुपियाँँ आर्थिक सहयोग प्राप्त भएको स्थानीय गुणरज खत्रीले जानकारी दिनुभयो। रिमालका श्रीमती र एक अपांगता भएका छोरा छन््।