सलिम अन्सारी, प्युठान
जुम्री बजार, सडकछेउमै टिकट काउन्टर खोलिएको छ। साँघुरो सडक त्यसैमाथि सवारीसाधनको चाप। जिल्ला िभत्रने र बाहिर आउजाउ गर्ने द्वार रहेको यो बजार क्षेत्रमा मान्छेको चाप पनि धेरै नै देखिन्छ। यात्रुलाई टुसुक्क बस्ने ठाउँ छैन। गाडीहरू सडकमै भद्रगोल पार्किङ हुँदा व्यावसायी मात्रै हैन, स्थानीयलाईसमेत हैरानी छ।
जिल्लामा नयाँ बस बर्सेनि थपिँदै छन्, तर ती बस पार्किङका लागि यहाँ बसपार्कको समस्या छ। यातायातका साधन सडकमै पार्किङ गर्न नपाइने नियम छ, तर फराकिलो बसपार्क नहुँदा सडक दायाँबायाँ र होटल, पसल तथा स्थानीयका घरअगाडि सवारीसाधन पार्किङ हुँदै आएका छन्। घरअगाडि र सडक छेउमै पार्किङ गर्दा दुर्घटना जोखिम बढी छ। व्यवस्थित बसपार्क नहुँदा यातायात व्यवसायीहरू समस्यामा परेको स्वर्गद्वारी यातायात समितिका महासचिव चन्द्रमान श्रेष्ठले बताए। ‘यात्रु र सवारीसाधनको चाप बढेको छ, तर बसपार्क व्यवस्थापन अनि निर्माणमा सरकारी निकायको ध्यान पुगेको छैन’ –उनले भने। यातायात व्यवस्थापनका लागि बसपार्कको खाँचो रहेको उनको भनाइ छ।
सडकछेउभन्दा बाहिर पर्याप्त पार्किङ क्षमताको बसपार्क तत्कालै बनाउनुपर्ने आवाश्यक रहेको श्रेष्ठले बताए। जिल्ला सदरमुकाम खलंगासहित बाग्दुला, बिजुबार, मच्छी, भिंग्र्री बजारलगायत व्यापारिक केन्द्रमा व्यवस्थित बसपार्क नहुँदा सडकमै सवारीसाधन रोकिँदै आएका छन्। जिल्लाका ९ वटै स्थानीय तहका केन्द्रसम्म यातायात सञ्चालन हुँदै आएको छ।मुख्य राजमार्ग र भित्री सडक प्रायः सबैमा व्यावसायिक सवारीसाधन सञ्चालनमा छन्।
जग्गा विवादले गर्दा प्यूठान नगरपालिका–३ जुम्रीमा दुई दशकअघि निर्माण भएको बसपार्क अलपत्र छ। अझै व्यवस्थित हुन सकेको छैन। स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएपछि ०५६ मा यसको निर्माण थालिएको थियो। जिल्लामा राप्ती र स्वर्गद्वारी यातायात समिति फुटेपछि विवादले व्यवस्थित नभएको हो। स्थानीयले २० रोपनी जग्गा निःशुल्क उपलब्ध गराएर शुरूमा बसपार्क सञ्चालन गरेका थिए। पछिल्लो समय स्थानीय सरकारले ध्यान नदिएकाले भौतिक पूर्वाधार निर्माणका काम अलपत्र परेको जुम्री बसपार्क व्यवस्थापन समिति अध्यक्ष सुमन श्रेष्ठले बताए। ‘जग्गा हाम्रो स्वामित्वमा ल्याउने प्रक्रियामा छौं’, अध्यक्ष श्रेष्ठले भने– ‘राप्ती समिति पनि सकारात्मक छ।’
बसपार्क निर्माणमा २०७२ तथा २०७३ मा गरी करिब १८ लाख खर्च भएको श्रेष्ठ बताउँछन््। उता टिकुरीमा निर्माणाधीन प्यूठान बसपार्कमा पनि विवाद देखिएको छ। टिकुरी हुँदै तत्कालीन खलंगा जाने बाटोमा स्थानीयले मुआब्जाको माग राख्दै जिल्ला अदालत प्यूठानमा मुद्दा हालेपछि विवाद देखिएको हो। स्थानीयको विवादका कारण निर्माण प्रक्रियाले गति लिन नसकेको बसपार्क व्यवस्थापन समितिका अध्यक्ष शालिग्राम पण्डितले बताए। २०४५ सालमा टिकुरीबाट खलंगा जोड्न खनिएको बाटोमा ३० वर्षपछि आएर मुआब्जाको माग आएको पण्डितले बताए। ‘हामी स्थानीयस्तरमै छलफल गरेर विवाद मिलाउँछौ’, पण्डितले भने– ‘करिब ५ करोडको काम अलपत्र परेको छ।’ टिकुरी–बसपार्क हुँदै बाग्दुलासम्म बाटो पिच गरिने योजना छ। मुआब्जा विवादका कारण ठेकेदारले कामअघि नबढाएको समितिले बताएको हो।
टिकुरीबाट बसपार्कसम्मको १ किमि दूरीको सडकमा नालीसहित ९ मिटर चौडा बनाउने योजना छ। गत असार महिनामै टेन्डर स्वीकृत भएर भदौबाट काम गर्ने भनिए पनि अझै काम शुरू गरिएको छैन। दुवै बसपार्कमा देखिएको समस्यालाई प्यूठान नगरपालिकाले चासोका साथ हेरिरहेको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताए। ‘जुम्री बसपार्कको समस्या समाधानमा लागेका छौं’, कक्षपतिले भने– ‘राप्ती समितिसँग छलफल गर्दै छौं, छिट्टै बसपार्कको जग्गा नगरपालिकाको नाममा आउँछ।’ टिकुरीमा निर्माणाधीन बसपार्कको विवाद पनि हल गरिने कक्षपतिले बताए।











प्रतिक्रिया