मधुसूदन रायमाझी, काठमाडौं
विद्युत् प्राधिकरणको १ सय ३२ केभी प्रसारण लाइनमुनि अनाधिकृतरूपमा बनाइएका घर–टहराले जोखिम बढाएको छ।
प्रसारण लाइन निर्माण गर्ने क्रममा प्राधिकरणले टावर निर्माणस्थल र जग्गाको मुअब्जा उपलब्ध गराए पनि अवैधरूपमा घर–टहरा निर्माण भएका हुन्। भू–माफियाको चलखेलका कारण लगत कट्टा गरिसकेको जग्गासमेत किनबेच हुँदै उक्त जग्गामा घरसमेत निर्माण भएको छ।
उच्च जोखिम मानिने प्रसारण लाइनमुनि एकदेखि पाँच तलासम्मको पक्की घर निर्माण भएको छ। प्रशारण लाइनमुनि अनाधिकृतरूपमा घर निर्माण हुन थालेपछि स्थानीय सरकारले पनि चासो देखाएको छ। विशेष गरी द्वन्द्वको समयमा राजनीतिक दलहरूको सेटिङमा अवैध घर तथा टहरा निर्माण भएपछि अहिले सरकारलाई नै टाउको दुखाइको विषय बनेको छ। हाइटेन्सन लाइनमुनिका जग्गाको लगत कट्टा नगरी भू–माफिया र मालपोतका कर्मचारीको मिलेमतोमा जग्गा किनबेच गर्ने क्रम बढाइएको माकलबारीका स्थानीयको आरोप छ।
काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–६ अन्तर्गत पर्ने केन्द्रीय प्रशारण लाइनमुनि मापदण्डविपरीत धमाधम घर निर्माण भइरहेका छन्। प्रशारण लाइन विस्तार गर्ने क्रममा सम्बन्धित जग्गाधनीले नेपाल विद्युत् प्राधिकरणबाट मुअब्जा लिएर पनि धमाधम घर बनाइरहेका हुन्।
कागेश्वरी मनहरा नगरपालिकाका प्रवक्ता राजाराम पुडासैनीले नगरपालिकाभित्र पक्की र छाप्रा गरेर २३ वटा घर प्रसारण लाइनमुनि निर्माण गरेको तथ्याङ्क रहेको बताउनुभयो। ‘घर तथा टहरा भत्काउन प्राधिकरणलाई पत्रचार गरेका छौं’, उहाँले भन्नुभयो– ‘कानुनविपरीत अवैध घर बनाएको पाइएमा नगरपालिकाले पूर्णरूपमा रोक्छ, बनाइएको भए पनि कानुनबमोजिम भत्काइन्छ।’
भू–माफियाको चलखेलमा जग्गा किनबेच गरेर घरजग्गा र घर किनेकालाई रातदिन चिन्ताअवधै घरलाई नगरपालिकाले सेवा उपलब्ध नगराउने‘प्रसारण लाइनमुनिको घर उच्च जोखिममा’
१ सय ३२ केभी प्रसारण लाइनमा घर निर्माण गर्दा दायाँ–बायाँ ९–९ मिटर छोड्नुपर्ने भए पनि उक्त नगरपालिका–६ को मूलपानीमा प्रशारण लाइनमुनि नै घर बनाइएको छ। प्राधिकरणका अनुसार प्रसारण लाइनमुनि घर निर्माण गर्दा वर्षाको समयमा हाइभोल्टेज आउँदा करेन्ट लाग्ने उच्च जोखिम हुन्छ।
सोही नगरपालिकाका प्रमुख कृष्णहरि थापाले नगरपालिकाभित्र मापदण्डविपरीत बनाइएका घरलाई नगरपालिकाबाट उपलब्ध गराउने सेवा सुविधाबाट वञ्चित गर्ने बताउँदै भन्नुभयो– ‘गलत काम गर्नेलाई नियमअनुसार कारबाही हुन्छ। हामी निर्वाचित भएर आउनुअघि नै हाइटेन्सन लाइनमुनि घर बनेको पाइएको छ, यसबारे अध्ययन गरिसकेका छांै, प्राधिकरणसँग समन्वय गरेर भत्काउनेबारे गृहकार्य गरिरहेका छौं।’
यस्तै काठमाडौंकै गोकर्णेश्वर नगरपालिकाभित्र अवैधरूपमा हाइटेन्ससन लाइनमुनि घर बनाउने गरिएको छ।
बस्ती विकासको क्रमसँगै गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा हाइटेन्सन लाइनमुनि घर बनाइएको हो।
विगत १० वर्षको अवधिमा माकलबारी क्षेत्रमा मात्र ७५ वटा अवैध घर बनेको पाइएको छ। तत्कालीन नगरपालिकाका कर्मचारीको मिलेमतो र जग्गा दलालको चलखेलका कारण सस्तो मूल्यमा घर जग्गा पाइएएपछि घर जग्गा बिक्रीवितरण शुरू भएको थियो। अहिले जोरपाटीको नारायणटार पुलदेखि गोकर्णसम्मको क्षेत्रमा मात्र ७५ वटा भन्दा बढी पक्की घर निर्माण गरिएको छ। ९ मिटर छोडेर घर निर्माण गर्नुपर्ने भए पनि तारले नै छुने गरी घर निर्माण भएका छन्।
माकलबारी क्षेत्रमा बनाइएका ७५ भन्दा बढी घर प्रशारण लाइनले छुने गरी निर्माण गरिएको छ। माकलबारीमा अवैधरूपमा घर निर्माण भएपछि अहिले गोकर्णेश्वर नगरपालिकालाई समेत टाउको दुखाइ भएको छ। अवैधरूपमा धमाधम घर बनाउँदा पनि तत्कालीन अवस्थामा रोक्न नसक्दा अहिले टाउको दुखाउनुपरेका हो। झण्डै २० वर्षसम्म स्थानीय तहमा जनप्रतिनिधिविहीन हुँदा त्यसको फाइदा उठाउँदै भूमाफियाहरूले सस्तोको प्रलोभन देखाएर घरजग्गा बिक्रीवितरण गरेका थिए। तर सस्तोमा घर किनेर खुसी भएकाहरू अवैधरूपमा पैसा हालिएछ भन्दै पछुताउँदै छन्।
गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेले माकलबारी क्षेत्रमा मात्र ७५ वटा भन्दा बढी घर अवैधरूपमा बनेको दाबी गर्दै ती घरहरूको व्यवस्थापनबारे छलफल भइरहेको जानकारी दिनुभयो।
स्मरणीय छ, अवैधरूपमा बनाइएका झन्डै ७५ वटा भन्दा बढी घरको नक्सापास नै भएको छैन। काठमाडौं ग्रिड महाशाखाका प्रमुख सुरेन्द्र अग्रहरिले अवैधरूपमा बनाएका घर टहरा हटाउनका लागि आफूहरूले काम गरिरहेको बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘अवैध घरटहरा हटाउन कानुनी व्यवस्था छैन। वडाले नै नक्सापास गर्ने बेलामा नै रोक्नुपर्छ, नगरपालिकाले सेवा सुविधा बन्द गरेमा यो कदम रोकिन्छ।’
अग्रहरीका अनुसार माकलबारी, मुलपानी, स्युचाटार, ट्याङ्लाफाँट, बालकोटलगायतका क्षेत्रमा अनाधीकृतरूपमा प्रसारण लाइनमुनि घर निर्माण भएका छन्। ‘१ सय ३२ केभी प्रसारण लाइनमुनि घर निर्माण गर्दा सेन्टरबाट दायाँबायाँ ९÷९ मिटर छोडेर मात्र निर्माण गर्नुपर्ने प्रावधान छ’, उहाँले भन्नुभयो– ‘वर्षाको समय र चट्याङ पर्दा निकै करेन्टले तान्ने सम्भावना धेरै हुन्छ।’











प्रतिक्रिया