प्रकाश पन्त, वीरेन्द्रनगर
अमेरिकामा रहेकी समाजसेवी जयन्ती थापाले २० जना बालबालिकालाई पढाउँदै आएकी छन््। कर्णाली प्रदेशका विभिन्न विद्यालयका अतिविपन्न तथा गरिब बाललालिकालाई उनले पढाइरहेकी हुन्।
उनको आर्थिक सहयोगमा रुकुमका कालिका प्राथमिक विद्यालय सुन्दरपानी, दीपज्योति प्राथमिक विद्यालय र बालकल्याण माध्यमिक विद्यालयले एक÷एक जना विपन्न विद्यार्थीलाई पढाइरहेका छन्। यस्तै रुकुमकै कमल माध्यमिक विद्यालय हर्दिगाउँका दुई जना, जाजरकोटको नारायण माध्यमिक विद्यालय कार्कीगाउँमा चार जना गरिब विद्यार्थी पनि उनकै सहयोगमा पढिरहेका छन्।
सुर्खेतको अमरज्योति नमुना माध्यमिक विद्यालयमा ६ जना, जनजागृत प्राथमिक विद्यालय पदमपुरमा ३ जना विद्यार्थीको सम्पूर्ण पढाइ खर्च पनि बेर्होदै आएको उनले बताइन्। युवा समाजसेवी थापाले उनीहरूलाई पोसाक, कापी किताबसहित शैक्षिक सामग्रीदेखि विद्यालयमा लाग्ने सम्पूर्ण खर्च बेर्होदै आएकी छन्। आर्थिक अभावको गर्दा विद्यालय छोड्ने अवस्थामा पुगेका बालबालिकाको पहिचान गरी उनीहरूलाई पढाउने जिम्मा लिएको उनले बताइन्। विभिन्न कक्षामा पढिरहेका बालबालिकाको लागि हरेक वर्ष करिब १ लाख रुपियाँ खर्च हुने गरेको पनि उनले बताइन्।
आफू अमेरिकामा रहे पनि समाजसेवी थापा अन्य सामाजिक काममा पनि उत्तिकै सक्रिय छन्। उनले कर्णाली प्रदेशभित्र र बाहिरका जिल्लाका सामाजिक कार्यमा नियमित सहयोग गर्दै आएकी छन््। उनले सुर्खेतका दुई वटा विद्यालयमा ४ लाख रुपियाँको अक्षयकोष स्थापना गरेकी छन््। कोषको रकमबाट ती विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार बालबालिकालाई वर्षेनी छात्रवृत्ति दिइन्छ।
उनले सुर्खेतको जनजागृत प्राथमिक विद्यालय पदमपुरमा बुबाआमाको नामबाट १ लाख रुपियाँको अक्षय कोष स्थापना गरेकी छन्। यो कोषबाट हरेक वर्ष २–२ जना विद्यार्थीले पढाइमा सहयोग पाइरहेका छन्। यस्तै आफूले माध्यामिक तहसम्म अध्ययन गरेको अमरज्योति नमुना माध्यमिक विद्यालय नेवारेमा ३ लाख रुपियाँको अक्षय कोष स्थापना गरेकी छन्। यो कोषको रकमबाट ६ जना गरिब, विपन्न तथा जेहेन्दार बालबालिकालाई छात्रवृत्ति प्रदान गर्दै आएको विद्यालयले जनाएको छ।
जाडोयाममा दैलेखका ३ वटा विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्रीका साथै स्वीटरलगायतका न्यानो कपडा प्रदान गरेकी छन्। न्यानो कपडा पाएपछि विद्यार्थीहरू नियमितरूपमा विद्यालय आउन थालेको विद्यालयले बताएको छ। सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाका शारीरिकरूपमा अशक्त र मानसिकरूपमा पीडित सडक बालबालिकालाई पनि समाजसेवी थापाले आर्थिक सहयोग गरेको उनले बताइन्। बालबालिकाको साथै समस्यामा परेका जेष्ठ नागरिक, क्यान्सरपीडित, पक्षघात भएका बिरामीलाई पनि आर्थिक सहयोगका साथै न्यानो कपडा पनि प्रदान गरेकी छन्।
उनले शिक्षा साथै स्वास्थ्य र सरसफाइको क्षेत्रमा पनि नियमित सहयोग गरिरहेकी छन्। उनले पश्चिम रुकुमको आठबीसकोट नगरपालिकाको रारी बजारको सरसफाइमा लामै समयदेखि सहयोग गर्दै आएकी छन्। रारी बजारकै एउटा आमा समूहमार्फत उनले फोहोर राख्ने प्रयोग हुने डस्बिनदेखि सरसफाइसम्बन्धी चेतनामूलक सडक नाटक गर्न आर्थिक सहयोग गर्दै आएको बताइन्।
अहिलेसम्म सुर्खेत, दैलेख, जाजरकोट, रुकुम र कैलाली गरी ५ जिल्लाका गरिब तथा विपन्न बालबालिकाको पढाइ, क्यान्सर, पक्षघातबाट पीडित विपन्न नागरिक, सुस्तमनस्थिति र दृष्टिविहीन बालबालिकालाई आर्थिक सहयोग गरेको उनले बताइन्। ‘भौतिकरूपमा अमेरिकामा भए पनि मेरो मन भने नेपालमै छ, स्काइपमा कुरा गर्दै थापाले भनिन्’, विपन्न बालबालिकाले पढ्न नपाएको, आर्थिक अभावले बिरामीले उपचार नपाएकोजस्ता कुराले एकदमै मन छुने गर्छ। अनि त्यस्ता बालबालिका र व्यक्तिलाई सहयोग नगरी बस्न सक्दिनँ। त्यसैले जति सकिन्छ आफ्नै आम्दानीबाट सहयोग गरिरहेकी छु। अहिलेसम्म कसैसँग पनि मागेर सहयोग गरेकी छैन।’ दश वर्षअघिबाट समाजसेवामा हात हालेकी थापाले वर्षमा ६ लाख रुपियाँ विभिन्न सामाजिक सेवामा खर्चिंदै आएको बताइन्।











प्रतिक्रिया