कालिबहादुर मल्ल, कालिकोट
सदरमुकाम मान्मबाट ३२ कोस टाढा रहेको पलाँता गाउँपालिका–१ खाडास्थित न्यौपाने गाउँमा सोमबार बिहानबाट शुरू भएको भीषण आगलागीले ८७ घर जलेर नष्ट भएको छ।
जिल्लाबाट प्रहरीको टोली गएपछि पूर्णरूपमा आगो नियन्त्रणमा आएको कालिकोटका निमित्त प्रहरी प्रमुख देवेन्द्र मल्लले जानकारी दिनुभयो। आगलागीबाट करोडौंको धनमाल क्षति भएको निमित्त प्रहरी प्रमुख मल्लले जानकारी दिनुभयो।
खरले छाएका घर भएकाले आगोले बढी क्षति पुगेको पलाँता गाउँपालिका उपाध्यक्ष दाना न्यौपानेले बताउनुभयो। सो गाउँ सुख्खा क्षेत्र र खरको छानाका घर भएकाले आगो निभाउन नसकिएको उहाँले बताउनुभयो।
उद्धार तथा राहतका लागि नजिकको प्रहरी र सदरमुकामबाट सशस्त्र प्रहरी बलको टोली खटाइएको छ। आगलागी भएको स्थान पलाँता गाउँपालिका उपाध्यक्ष दाना न्यौपानेको गाउँ हो।
राहतको टोली पलाँतामा
अग्निपीडितका लागि राहत तथा खाद्यान्न सामग्री लिएर मुख्यमन्त्री महेन्द्रबहादुर शाही तथा कालिकोटका सांसदहरूसहितको टोली पलाँता पुगेको छ। राष्ट्रिय सभा सदस्य जीवन बुढा, प्रतिनिधिसभा सदस्य दुर्गाबहादुर रावत र प्रदेशसभा सदस्य कुर्मराज शाहीसहितको टोली राहत सामग्री लिएर पलाँता गाउँपालिका–१ स्थित न्यौपानेवाडा पुगेका छन्।
मुख्यमन्त्री शाहीको टोली प्रदेश सरकारको तर्फबाट तत्कालका लागि प्रतिपरिवार राहत स्वरूप नगद २० हजार, ब्ल्याङ्केट १ जोर, पिफम ५ बन्डल, सिरकडसना १ सय थान, चाउचाउ १५ पेटी, बिस्कुट ६ पेटी, चिउरा ३ बोरा फुरनदाना २३ किलो र गृह मन्त्रालयको तर्फबाट त्रिपाल ६० थान, जुत्ता १ सय थान, ज्याकेट १ सय थान, ट्राउजर १ सय थान र ब्ल्याङ्केट २ सय थान लिएर नेपाली सेनाको हेलिकोप्टरमार्फत अग्निपीडित क्षेत्र पुगेको हो।
केन्द्र सरकारको तर्फबाट सदरमुकाम मान्माबाट ३ हजार किलो चामलसहित दाल, नुन, तेललगायतको खाद्यान्न सामग्री अग्निपीडितलाई उपलब्ध गराउने कार्यक्रम रहेको छ।
मनास्लुको पुंगेनमा पनि आगलागी
मनास्लु पदमार्गको पुंगेन क्षेत्रमा रहेको जंगलमा आगलागी हुँदा त्यहाँ रहेका जीवजन्तु सखाप भएका छन्। टुरिस्ट गाइडले चुरोटको ठुटो फाल्दा मनास्लुको फेदी सामागाउँको एक मात्र जंगलमा आगलागी भएको हो।
आइतबार दिउँसोदेखि लागेको आगो सोमबार रातिसम्म नियन्त्रणमा आउन नसकेको स्थानीय मिङ्मार लामाले जानकारी दिनुभयो। ‘गाइडले चुरोटको ठुटो फाल्दा आगो सल्कियो,’ उहाँले भन्नुभयो– ‘हाम्रो बाउबाजेको पालादेखि जोगिँदै आएको जंगल सखाप भयो।’ जंगलमा रहेका मृग, कस्तुरी, डाँफेलगायतका जीवजन्तु मारिएको उहाँले बताउनुभयो। आगो नियन्त्रणबाहिर रहेको र निभाउन जान सक्ने अवस्था नरहेको मनास्लु संरक्षण क्षेत्रका आयोजना प्रमुख नरेन्द्र लामाले बताउनुभयो।











प्रतिक्रिया