सरकारी वकिलको सम्मेलन शुरू

0
Shares

काठमाडौं, (नेस)
देशभरका सरकारी वकिलहरू आइतबारदेखि राजधानीमा भेला भएका छन्। उनीहरू मंगलबारसम्म चल्ने सरकारी वकिलहरूको दोस्रो राष्ट्रिय सम्मेलनमा सहभागी हुन भेला भएका हुन्।

आइतबार सम्मेलनको उद्घाटन वैज्ञानिक र वस्तुनिष्ठ अभियोजन, अपराध संहिताको प्रभावकारी कार्यान्वयन भन्ने मुल नाराका साथ भएको थियो। सम्मेलनको उद्घाटन सत्रमा सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले सरकारी वकिलसँग जोडिएको फौजदारी न्यायप्रशासन दरिलो हुनुपर्ने धारणा राख्नुभयो। अपराध अनुसन्धान, अभियोजन वैज्ञानिक र वस्तुनिष्ठ हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी वकिललाई व्यवसायिक क्षेत्र बनाउनुपर्ने बताउनुभयो।

कार्यक्रममा अपराध अनुसन्धान, तहकिकात, अभियोजनमा सरकारी वकिलको महत्वपूर्ण भूमिका रहेको भन्दै संघीय संसद्को राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, प्रहरी महानिरिक्षक सर्बेन्द्र खनाललगायतले सम्बोधन गर्नुभएको थियो।

कार्यक्रममा २ सय बढी सरकारी वकिलहरू देशभरबाट भेला भएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ। कार्यक्रममा मुलुकी अपराध संहिता, मुलुकी फौजदारी संहिताको कार्यान्वयनमा सरकारी वकिलको भूमिका, सरकारी वकिलको कार्यालयको सुदृढीकरण, सरकारी वकिलहरूको व्यावसायिकता विकासलगायतका विषयमा २५ वटा कार्यपत्र प्रस्तुत हुने जनाइएको छ। सम्मेलनले मंगलबार घोषणापत्र जारी गर्नेछ।