नेपाल समाचारपत्र, बैतडी
मातृ मृत्युदर र शिशु मृत्यदर कम गर्नका लागि बैतडीको पुर्चौडी नगरपालिकाले आमा सुरक्षा कार्यक्रमअन्तर्गत उपमेयरको कोसेली कार्यक्रम सञ्चालनमा ल्याएको छ।
सरकारले घोषणा गरेको आमा सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउन उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको पुर्चौडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोद कुँवरले जानकारी दिए। उक्त कार्यक्रमअन्तर्गत सुत्केरी भएका महिलाहरूले उपमेयरको तर्फबाट सरसफाइ किट प्राप्त गर्ने भएका छन्।
४ पटक गर्भवती जाँच गरेको, स्वास्थ्य संस्थामै सुत्केरी भएको र सुत्केरी भएपश्चात ७ दिनसम्म कम्तीमा ३ पटक सुत्केरी जाँच गराएको हुनुपर्नेलगायतका मापदण्ड पुरा गरेका महिलालाई उपमेयरको कोसेली प्रदान गरिने भएको छ।
सुत्केरी भएको महिलाले उक्त मापदण्ड पूरा गरे नगरेको सम्बन्धित स्वास्थ्य संस्थामा अभिलेख रहने बताइएको छ। मातृ मृत्युदर र शिशुमृत्युदरलाई कम गर्न सरसफाइ सामग्रीसहितको झोला उपमेयरका तर्फबाट सुत्केरी महिलालाई प्रदान गरिने नगरपालिकाले जनाएको छ।
संस्थागत सुत्केरी कायम गर्नमा सहयोग र सुत्केरीपश्चात हुने आमा शिशुको स्वास्थ्यमा समेत कुनै असर नपर्नेलगायतको उपलब्धि हासिल गर्न यस कार्यक्रमले सहयोग पुग्ने नगरपालिकाकी उपप्रमुख जानकी बमले बताइन्। उक्त कार्यक्रमका लागि नगरपालिकाले ७ लाख बजेट छुट्याएको छ।











प्रतिक्रिया