प्रधानमन्त्रीविरुद्धको अपहेलना मुद्दाको सुनुवाइ स¥यो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको आदेश अवज्ञा गरेको दाबीसहित सर्वोच्च अदालतमा दायर गरिएको मुद्दाको सुनुवाइ सरेको छ। तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव रामआधार साहले प्रधानमन्त्रीविरुद्ध अदालतको आदेश अपहेलना गरेको भन्दै एक वर्ष कैद र दश हजार जरिवाना माग गर्दै निवेदन दायर गर्नुभएको थियो। उक्त निवेदनको सुनुवाइ प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलाशमा पेसी तोकिएको थियो।

निवेदक साहले उक्त मुद्दा स्थगित गर्न निवेदन दिएपछि सुनुवाइ सरेको हो। साह नेपाल नापतौल तथा गुणस्तर विभागमा रहँदा पेट्रोल पम्पमा डिजिटल मिटर जडान गर्न सहयोग गरी कालोबजारी र ठगी गर्ने कार्यमा मिलेमतो रहेको भन्दै पक्राउ गरेर मुद्दा दायर गरिएको थियो।

तर, अदालतबाट सफाइ पाई काममा फर्काउनु भनी सर्वोच्चले आदेश गर्दासमेत कार्यान्वयन नभएको भन्दै साहले प्रधानमन्त्री ओलीविरुद्ध गत मंसिर २७ गते अपहेलना मुद्दा दायर गर्नुभएको थियो। निवेदनमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, मुख्यसचिव लोकदर्शन रेग्मी र सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियालाई विपक्षी बनाइएको छ।