विमल विष्ट, डोटी
पुस्तौंदेखि हलिया बस्दै आएका सायल गाउँपालिका–१, छपाली बिनेवाडाका ५६ वर्षीय जंगे भुल २०६५ सालमा हलिया मुक्तिको घोषणा भएपछि खुसी हुनुभयो। उहाँले सरकारबाट केही राहत पाउने आशा गर्नुभएको थियो, रोजगारीको पनि आश गर्नुभएको थियो, तर उहाँका लागि त्यो मुक्ति उहाँलाई अहिले ‘कागलाई बेल पाग्यो हर्ष न विस्मात’ जस्तै भएको छ।
पुस्तौंदेखि हलो जोत्दासमेत उहाँको ऋण मिनाहा नभएपछि उहाँले एक पटक त साविकको छपाली गाउँ विकास समितिमा आफ्ना मालिकविरुद्ध उजुरीसमेत गर्नुभएको थियो। २०६५ साल भाद्र २१ गते सरकारले ऋण मिनाहासहितको हलिया मुक्तिको घोषणा गर्दा उहाँले मालिकको ऋण तिर्नु परेन।
तर उहाँलाई ऋण तिर्न दबाब भने पछिसम्म पनि आयो। पुस्तौंदेखि भूमिहीन जंगेको परिवारले यस पटक मुक्त हलिया पुनःस्थापनाको सरकारी कार्यक्रमबाट घर मर्मतका लागि भन्दै १ लाख २५ हजार सहयोग पाउने भएका छन्, तर जंगेजस्तै भूमिहीन मुक्त हलियाहरूले भने जग्गा खरिद र घर निर्माणका लागि भन्दै ५ लाख २५ हजार रुपियाँ पाउँदैछन्।
‘गाउँमा नयाँ मान्छे आएका थिए, यो घर कसको हो भनेर सोधे, मैले मेरो हो भनेको हुँ’, जंगे भन्नुहुन्छ– ‘मैले आफू बस्ने भएको हुँदा मेरो हो भनें, तर उनीहरूले मेरै घर सोचेर ‘घ’ वर्गको परिचयपत्र बनाएछन्।’ आफूलाई धेरै कुरा जानकारी नभएको र आफ्नै नाममा घर जग्गा छ कि छैन भनी कसैले नसोधेको उहाँ बताउनुहुन्छ। उहाँ थप्नुहुन्छ– ‘घरजग्गा दुवै भएका व्यक्तिहरूले भूमिहीन भन्दै ‘क’ वर्गको परिचयपत्र पाएका छन् भन्ने सुनेको छु, मेरो त बोलिदिने कोही भएन, अनि यसो भयो।’ उहाँ एउटै घरमा दुई–तीन जनाले समेत ‘क’ वर्गको परिचयपत्र पाएको आफूले सुनेको बताउनुहुन्छ।
जंगेकी जीवनसाथी हीरा भुलको निधन भएको झन्डै १२ वर्ष भयो। उहाँका जेठा छोरा ईन्द्र तीन वर्षदेखि सम्पर्कमा छैनन्। मानसिक सन्तुलन ठीक नभएका उनी कता छन् वा छन् कि छैनन।्, यसबारेमा जंगेलाई अहिलेसम्म पनि जानकारी छैन। २२ वर्षीया छोरी भानुमति आँखा देख्दिनन्। आँखा नदेख्ने भएकै कारण उनको बिहे पनि हुन सकेको छैन। भानुमति मात्रै होइन। जंगेका कान्छा छोरा १८ वर्षीय भक्त भुल पनि आँखा देख्दैनन्। जन्मजात अपांगता भएका दुवै छोराछोरीको स्याहारको जिम्मा जंगेको काँधमा छ।
करिब १ सय ५० दलित परिवार रहेको बिनेवाडा गाउँको खानेपानी खोलेबापत उहाँले वर्षको दुई पटक अन्न पाउनुहुन्छ। ‘जेठ र कात्तिकमा गरी दुई पटक प्रति परिवारले तीन माना अन्न दिन्छन्’, स्थानीय धनबहादुर नेपालीले भन्नुभयो– ‘यसैबाट उनको गुजरा चलेको छ।’ भुललाई छोराछोरी पाल्न सजिलो होस् भनेर नै यो निर्णय गरेको नेपाली बताउनुहुन्छ। जंगेका भाइ ४९ वर्षीय लाले पनि अविवाहित हुनुहुन्छ। उहाँको पालनपोषणको जिम्मा पनि जंगेकै भागमा छ। ‘घ’ वर्गको परिचयपत्रका कारण आफू समस्यामा परेको भन्दै जंगे भुल दिनहुँ निराश हुने गर्नुहुन्छ।











प्रतिक्रिया