विमल विष्ट, डोटी
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी कैलालीमै घर भएका सांसदहरूले लिँदै आएको घरभाडाबापतको रकम फिर्ता लिइने भएको छ। ‘प्रदेश राजधानीमै घर भएका सांसदले घरभाडा लिँदै’ भन्ने समाचार नेपाल समाचारपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले धनगढीमै घर भएर पनि घरभाडा लिइरहेका सांसदले हालसम्म लिएका घरभाडाबापतको रकम फिर्ता मागिने बताउनुभयो।
‘राजधानीमै घर भए पनि सांसदज्यूहरूले घरभाडाको रकम लिन नहुने हो’, उहाँले भन्नुभयो– ‘आफ्नो नैतिकताका आधारमा पनि उहाँले लिएको भाडा फिर्ता गर्नुपर्ने हुन्छ, नभए हामी फिर्ता दिन लगाउँछौं।’ थापाले घरभाडा लिएको विषयमा आइतबार संसद् सचिवालयका कर्मचारीसहितको टोलीसँग छलफल गरिएको र क–कसकोे घर छ र क–कसको घर छैन भन्ने बारेमा जानकारी लिइएको बताउनुभयो।
‘अबका दिनदेखि को–को माननीयज्यूहरू भाडामा बसेका र कसको घरमा बसेका भन्ने विषयमा फराम भरी सोही आधारमा मात्रै घरभाडा दिन संसद् सचिवालयका कर्मचारीलाई निर्देशन दिएको छु’, उहाँले भन्नुभयो– ‘धनगढीमा घर भएका सांसदज्यूहरूलाई कुनै हालतमा पनि घरभाडा दिइने छैन।’ सुदूरपश्चिम प्रदेशस्थित संसद् सचिवालयका अनुसार प्रदेश राजधानीमा घर भएका ११ जना सांसदले कैलालीमा आफ्नो घर नभएको भन्दै महिनैपिच्छे घरभाडाबापतको रकम लिइरहेका थिए।
यसरी कैलालीमै घर भएर पनि घरभाडा लिने सांसदमा कैलाली क्षेत्र नम्बर ५ ‘ख’ बाट निर्वाचित कांग्रेस सांसद डिल्लीराज पन्त, कांग्रेसका समानुपातिक सांसद टेकबहादुर रैका, कैलाली क्षेत्र नम्बर ३ बाट निर्वाचित नेकपाका सांसद वीरमान चौधरी, नेकपाकी समानुपातिक सांसद सुशीला बुढाथोकी छन्।
त्यसै गरी राजपाकी समानुपातिक सांसद मालामती राना, कैलाली क्षेत्र नम्बर ४ को ‘क’ बाट निर्वाचित नेकपाका सांसद तथा पूर्वमन्त्री दीर्घ सोडारी, क्षेत्र नम्बर ५ को ‘क’ बाट निर्वाचित नेकपाका सांसद नेपालु चौधरी, नेकपाकी समानुपातिक सांसद चुनकुमारी चौधरी, नेपाली कांग्रेस डोटी ‘क’ बाट निर्वाचित सांसद भरतबहादुर खड्का, कांग्रेसकै सांसद दिव्यश्वरी शाह, कञ्चनपुरबाट समानुपातिक सांसद बनेका कांग्रेस नेता देवराज पाठक रहेका छन्।
संसद सचिवालयका अनुसार सभामुख र उपसभामुखबाहेक अन्य सबै सांसदले घरभाडाबापतको रकम लिइरहेका छन्। मुख्यमन्त्री, मन्त्री तथा सभामुख र उपसभामुखले सरकारी आवास सुविधा पाएकाले घरभाडा नपाउने नियम रहेको छ।











प्रतिक्रिया