लाइन काटेर प्राधिकरणले उठायो २६ लाख बक्यौता

0
Shares

हेटौंडा, (नेस)
नेपाल विद्युत् प्राधिकरण पालुङ बितरण केन्द्रले लाइन काट्ने अभियानलाई तीव्र बनाएको छ। विद्युत् उपभोग गरेबापत् विद्युत् महशुल भुक्तानी नगरेका कारण २ करोड बक्यौता असुल गर्न प्राधिकरण तातेको हो।

प्राधिकरण पालुङ बितरण केन्द्रको बक्यौता २ करोड नाघेको अवस्थामा अभियान सञ्चालन गरी लाइन काट्न शुरू गरिएको हो। केन्द्रले बक्यौता धेरै भएका ग्राहकलाई बक्यौता महशुल भुक्तानी गर्न पटक–पटक सूचना जारी गर्दा पनि अटेर गरेपछि लाइन काट्ने अभियान चलाएको हो।

लामो समयदेखि विद्युत् बक्यौता रहेका ग्राहकको लाइन काटी बक्यौता असुल गर्नुको विकल्प नभएका कारण लाइन काटी बक्यौता असुल गर्ने प्राधिकरणको अभियान रहेको बितरण केन्द्र प्रमुख सन्तोष पन्तले जानकारी दिनुभयो।

करिब १२ हजार ग्राहक रहेको पालुङ बितरण केन्द्रको मंसिरसम्मको बक्यौता २ करोड छ। केन्द्रले यस सातामात्र थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका विभिन्न क्षेत्रमा १ सय ३६ ग्राहकको लाइन काटेको छ। जसमध्ये बुधबारसम्म ५० भन्दा बढी ग्राहकले बक्यौता भुक्तानी गरी लाइन जोडेका छन्। लाइन काटिएपछि अभियानबाट प्राधिकरणले २६ लाख बक्यौता उठाएको छ। अभियानलाई निरन्तर सञ्चालन गरी सबै बक्यौता उठाइने केन्द्र प्रमुख पन्तले बताउनुभयो।

अधिंकांश ग्रामीण भाग रहेको बितरण केन्द्रको ९६ लाख बक्यौता गार्हस्थ ग्राहकसँग बाँकी छ भने ७४ लाख व्यापारिक, १० लाख औद्योगिक ग्राहकसँग असुल गर्न बाँकी छ। उत्तरी मकवानपुरको थाहानगरपालिका सहित इन्द्रसरोवर गाउँपालिका, भीमफेदी गाउँपालिका र कैलाश गाउँपालिका क्षेत्र रहेको केन्द्रको नगरको फेदीगाउँ, दामनको शिखरकोट, किटेनी, बज्रबाराही सरस्वती बजार, चित्लाङ, चौकीटोल र भीमफेदी गाउँपालिकाको सिस्नेरी टेकर क्षेत्रमा बढी बक्यौता रहेको जनाइएको छ।
केन्द्रले बक्यौता बढी रहेका सरकारी कार्यालय र उद्योग कलकारखानालाई पत्राचार गरिसकेको छ। सरकारी कार्यालयमध्ये स्वास्थ्य चौकी दामनको ९ लाख ५८ हजार बक्यौता छ।