मोदी गाउँपालिकाका प्रत्येक वडामा मेलमिलापकर्ता

0
Shares

पर्वत, (नेस)
पर्वतको मोदी गाउँपालिकाले पालिकाअन्तर्गतका बासिन्दालाई न्यायिक अधिकारको पहुँच विस्तार गर्न गाउँगाउँमा मेलमिलापकर्ता निर्माण गरेको छ।
मोदी गाउँपालिकाले चालू आर्थिक वर्षमा स्थानीय न्यायिक समितिलाई सक्रिय बनाउँदै मेलमिलापकर्ता तयार गरेको हो। गाउँपालिकाले आर्थिक वर्षको वार्षिक कार्यक्रममा नै ५ लाख रकम विनियोजन गरी उक्त अभियान सञ्चालन गरेको हो।

अभियानका क्रममा पहिलोचरणमा प्रत्येक वडाबाट प्रतिवडा ३ जना गरी ८ वडाका २४ जनालाई मेलमिलापकर्ता तालिम प्रदान गरेको छ। हालै ८ दिनसम्म तालिम सञ्चालन गरी मेलमिलाप कर्ताहरूलाई प्रत्येक वडामा परिचालन गरेको छ।

कुनै पनि गाउँमा विवाद सिर्जना भएमा र राज्यले पाउनुपर्ने अधिकारबाट वञ्चित भएका गुनासा आएमा त्यस्ता गुनासालाई वडा कार्यालयमा दस्तावेजीकरण गर्ने र वडाबाटै समस्याको समाधानको बाटो खोजिने न्यायिक समिति संयोजक तथा मोदी गाउँपालिकाकी उपाध्यक्ष सेती महतले जानकारी दिइन्। ‘हामी विकासका गतिविधि एकातर्फबाट सञ्चालन गरेका छौं भने सँगसँगै अधिकारलाई पनि प्राथमिकता दिने प्रयास गरेका हौं’, उनले भनिन्– ‘गाउँभित्रका जनगुनासा र विवादहरू समाजमा नै मिलाउने नीतिलाई अघि सारेका छौं।’ उनले घरभित्रको समस्या घरभित्र नै हल गर्न सकियो भने मेलमिलापको नीतिलाई अवलम्बन गर्न सकिने धारणा राखिन्।

मोदी गाउँपालिकामा न्यायिक समिति गठन भएयता २२ उजुरी दर्ता भएका छन्। ती २२ उजुरीमध्ये न्यायिक समितिले १६ उजुरी उपर छलफल गरी किनारा लगाइसकेको छ भने ६ उजुरी उपर कानुनी प्रक्रिया जारी रहेको न्यायिक समितिका सदस्यसचिव भीम अर्यालले जानकारी दिए।

यसरी परेका उजुरीमध्ये अधिकांश घरेलु हिंसाका नै छन् भने दुई उजुरी श्रीमान्ले श्रीमतीसँग सम्बन्ध विच्छेदको माग गरेका र केही लेनदेनसम्बन्धी उजुरी रहेका छन्। उजुरीलाई अन्तिम समयसम्म मेलमिलापकै नीति लागू गरेर पक्षविपक्षबीच छलफल गर्ने गरिएको संयोजक महतले बताइन्। गाउँपालिकाले अहिलेसम्म परेका उजुरीमध्ये कुनै पनि उजुरी जिल्ला अदालतमा रिफर गर्न नपरेको उनले जानकारी दिइन्।