विमल विष्ट, डोटी
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा पछिल्लो समय जमिनको भित्री भागबाट पानी निकाल्ने लिप्ट सिस्टम ९डिप बोरिङ० प्रविधि फस्टाउँदै गएको छ। समुद्री सतहबाट २ हजार उचाइसम्म रहेका भौगोलिकरूपमा विकट मानिने यहाँका अधिकांश अग्ला अग्ला डाँडाबाट डिप बोरिङ मेसिन प्रयोग गरी पानी निकाल्ने प्रविधि सफलसँगै यो प्रविधि दिनानुदिन बढ्दो क्रममा रहेको दिपायलका स्थानीयबासी डम्बरबहादुर भण्डारीले बताउनुभयो।
सुदूरपश्चिम प्रदेशका नौ वडा जिल्लामध्ये सबैभन्दा बढी डोटी जिल्लामा यो प्रविधिको प्रयोग बढी हुन थालेको स्थानीयबासी बताउँछन्। यसै क्रममा डोटीको दिपायल सिलगढी नगरपालिकाले केही समयअगाडि वडा नम्बर ५ घोल्तडा र वडा नम्बर ४ पिपल्ला बजारमा पानी निकालेको थियो। त्यस्तै नगरपालिकाले वडा नम्बर १ सिरखोली सैनमा पनि पानी निकाल्ने तयारी गरिरहेको दिपायल सिलगढी नगरपालिकाकी नगर प्रमुख मञ्जु मलासिले जानकारी दिनुभयो।
त्यस्तै डोटीको शिखर नगरपालिकाले आफ्नो कार्यालय रहेको स्थानमा पानी निकाल्ने कार्य सफल भएको शिखर नगरपालिकाका नगर प्रमुख सीताराम जोशीले बताउनुभयो। उहाँले भन्नुभयो– ‘नगरपालिकाको कार्यालय रहेको ठाउमा पानीको अभाव थियो, हामीले लिफ्ट प्रविधि प्रयोग ग¥यौं र अहिले प्रशस्त मात्रामा पानी छ।’
लिफ्ट प्रविधिमार्फत डोटीकै बडीकेदार गाउँपालिकाले पनि गाउँपालिकाको कार्यालय रहेको स्थान वडा नम्बर २ खड्यौलीमा पानी निकाल्ने कार्यको शुरुआत गरेको बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक पाण्डेले बताउनुभयो। अधिकृत पाण्डेका अनुसार समुद्री सतहदेखि १९ सय मिटर उचाइमा रहेको खड्यौली क्षेत्रमा अबको केही दिनमा पानी आउने जानकारी दिनुभयो। करिब ५० लाखबराबरको लगानीमा शुरू भएको पानी निकाल्ने प्रविधि १ सय ६० एम एमको पाइपको प्रयोगबाट १ सेकेन्डमा ३ लिटर पानी आउने गरेको पानी निकाल्ने क्षेत्रमा काम गर्ने प्राविधिक बताउँछन्।
डिप बोरिङ सिस्टमबाट पानी निकाल्न थालेपछि पानीका लागि घन्टौं टाढा धाउने यहाँका स्थानीय निकै खुसी हुन थालेका छन्। पानीका मुहान नभएका अग्ला–अग्ला डाँडामा बस्ती भएका क्षेत्रको लागि यो प्रविधि अत्यन्त उपयोगी भएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो। सुदूरपश्चिम प्रदेशको जिल्ला अछाम जिल्लाबाट पहिलो पटक शुरुआत गरिएको यो प्रविधि हाल यहाँका पहाडी जिल्ला डडेल्धुरा, बाजुरा, बझाङ, बैतडी र डोटीमा पानी निकाल्ने काम भइरहेको छ।











प्रतिक्रिया