वडाध्यक्षद्वारा ६० परिवारको बीमा

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा
हेटौंडा–५ मा नेपाली कांग्रेसका तर्फबाट विजयी वडाध्यक्ष राजेश बानियाँले पिप्ले राईटोलका विपन्न वर्गको हितलाई मध्यनजर गर्दै उपमहानगरमा उदाहरणीय काम शुरू गर्नुभएको छ।

उहाँले शनिबार व्यक्तिगत तर्फबाट ६० घरपरिवारको स्वास्थ्य बीमा गर्नुभएको हो। स्थानीय विद्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष बानियाँले ६० घरपरिवारलाई स्वास्थ्य बीमाकर्तामार्फत बीमा गराउनुभएको हो। वडाध्यक्ष बानियाँले ६० घरपरिवारको बीमाबापत १ लाख ५० हजार सहयोग गर्नुभएको छ। ६० घरपरिवारले बीमाबापत उपचार खर्चमा प्रतिपरिवार ५० हजारका दरले ३० लाखबराबरको स्वास्थ्य सेवा पाउनेछन्।

नगरपालिकाले वडालाई उपलब्ध गराएको मोटरसाइकलसमेत नलिनुभएका बानियाँले स्वास्थ्य बीमा कार्ड हस्तान्तरण गर्दै आफूले वडाबाट केही सुविधा नलिएको र आफूले पाउनेजति सुविधा स्थानीयकै लागि खर्चेको बताउनुभयो।

‘निर्वाचनका बेला सेवासुविधा नलिने उद्घोष गरेको थिएँ। सोहीबमोजिम काम गर्दै आएको छु’ –उहाँले भन्नुभयो। उहाँले राईटोलमा आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न धौ–धौ परिरहेको अवस्थामा आफूले त्यस्तो समस्या हुन नदिन स्वास्थ्य बीमा गराएको बताउनुभयो।

योजनालाई निरन्तरता दिँदै आगामी दिनमा विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो। वडाबासीको स्वास्थ्य बीमा हुनुपर्ने आफ्नो चाहना रहेको बताउँदै यस्ता योजनालाई बृहत् गर्ने वडाध्यक्ष बानियाँले बताउनुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश–३ अध्यक्ष प्रताप विष्टले वडाध्यक्ष बानियाँले निर्वाचनका बेला गरेको प्रतिबद्धताअनुसार काम गर्दै आएकामा धन्यवाद दिनुभयो। उहाँले स्वास्थ्य बीमाले स्थानीयलाई राहत पुग्ने बताउँदै वडाध्यक्ष बानियाँबाट अन्य वडाका अध्यक्षले पनि पाठ सिक्न सक्ने बताउनुभयो।

नेपाली कांग्रेस हेटौंडा नगर सभापति आनन्दराम पराजुलीले वडाध्यक्ष बानियाँ काम गरेर देखाउने वडाध्यक्षका रूपमा देखिएको बताउनुभयो। उहाँले सामान्य जनताले आर्थिक अभावका कारण स्वास्थ्य उपचार गराउन नसकेको हुँदा धेरैले ज्यान गुमाएको अवस्थामा स्वास्थ्य बीमा योजनाले जीवन बचाउन सहयोग मिल्ने बताउनुभयो।