शैक्षिक गुणस्तर सुधार्न सुर्नया अग्रसर

0
Shares

बैतडी, (नेस)
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि बैतडीको सुर्नया गाउँपालिका अग्रसर भएको छ।
गाउँपालिकाले पालिकाभरिका विद्यालयमा अनुगमन थालेको छ। शैक्षिक गुणस्तरमा सुधार ल्याउन र गाउँपालिकाको शिक्षा नीतिलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्नका लागि अनुगमन थालिएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले जानकारी दिए।

गाउँपालिकाभरिका सामुदायिक विद्यालयमा अभिभावक, शिक्षक र विद्यार्थीलाई गुणस्तरीय शिक्षाका बारेमा जानकारी गराउन अनुगमन थालिएको हो।
अनुगमनका क्रममा शिक्षक र विद्यार्थीहरूसँग शिक्षाका विषयमा छलफल तथा अन्तरक्रिया भइरहेको छ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर भइरहेका बेला शैक्षिक गुणस्तर उकास्नका लागि गाउँपालिकाले पहल गरिरहेको अध्यक्ष विष्टको भनाइ रहेको छ।उनले भने– ‘शिक्षा समाज सुधारको प्रमुख अंग भएकाले शैक्षिक गुणस्तर सुधार गाउँपालिकाले प्राथमिकतामा राखेको हो।’

गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत निजी शिक्षकलाई सुर्नया शिक्षकको रूपमा नियुक्त दिएर काम गराउन शुरू गरिसकेको छ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि बैतडीको सुर्नया गाउँपालिकाले गाउँपालिकाभरिका सामुदायिक विद्यालयमा कार्यरत निजीस्रोतका सबै शिक्षकलाई सुर्नया शिक्षकको रूपमा नियुक्त गरेको छ। निजीस्रोतका शिक्षकलाई तलब दिन विद्यालयहरूसँग आन्तरिक आम्दानी नभएकाले गाउँपालिकाले निजी शिक्षकको तलब दिने व्यवस्था गरेको हो।

गाउँपालिकाले शिक्षा ऐन र कार्यविधि पारित गरेर सामुदायिक विद्यालयका निजी शिक्षकको व्यवस्थापन गरेको जनाएको छ। गाउँपालिकाभरिमा रहेका ३९ सामुदायिक विद्यालयमा कार्यरत ८० भन्दा बढी शिक्षक र कार्यालय सहयोगीलाई नियुक्त गरिएको हो।
गाउँपालिकाले गरेको लगानीअनुसार शैक्षिक उपलब्धि प्राप्तिका लागि गाउँपालिकाले पहल गरिरहेको जनाएको छ। गाउँपालिकाले शिक्षा क्षेत्रको विकासका लागि चालू आर्थिक वर्षमा ७० लाख बजेट विनियोजन गरेको छ।