राष्ट्रसंघीय जिम्मेवारीमा नेपाल सर्वसम्मत

0
Shares

काठमाडौं, (नेस)
नेपाल संयुक्त राष्ट्रसंघीय शान्ति निर्माण आयोग (पीबीसी) को संगठन कमिटीको सदस्यमा निर्वाचित भएको छ। एसिया–प्रशान्त क्षेत्रबाट नेपाल सर्वसम्मतरुपमा यो पदमा निर्वाचित भएको हो।

शनिबार निर्वाचित भएको नेपालले आगामी दुई वर्षका लागि यस्तो जिम्मेवारी सम्हाल्नेछ। नेपालसँगै इजिप्ट, ग्वाटेमाला, केन्या, मेक्सिको पनि महासभा समूह कमिटी सदस्यमा चयन भएका अमेरिकाको न्युयोर्कस्थित नेपाली स्थायी नियोगले जनाएको छ। ३१ सदस्यीय पीबीसी सन् २००५ मा स्थापना भएको हो।

नेपालले आगामी पुस १७ गतेदेखि सो जिम्मेवारी सम्हाल्ने नियोगले विज्ञप्तिमार्फत प्रष्ट्याएको छ। यसअघि नेपालले सन् २००८ देखि २०१० र २०११ देखि २०१५ सम्म पनि यस्तै जिम्मेवारी सम्हाल्ने मौका पाएको थियो।

राष्ट्रसंघीय शान्ति स्थापनार्थ खटिँदै आएको नेपाली सेना र अन्य सुरक्षा निकायले निर्वाह गरेको सकारात्मक भूमिकासहित नेपालले विभिन्न समयमा गर्दै आएको कुटनीतिक पहलले पछिल्लो सफलता मिलेको परराष्ट्र मन्त्रालयका अधिकारीको तर्क छ।