अनिल खत्री, गुल्मी
स्थानीयले कहिल्यै पानी आउला र घरमै बसी–बसी पानी पिउन पाउँला भन्ने कल्पनासमेत गरेका थिएनन्। नजिकै मुहान् पनि नभएकाले र अग्लो स्थानमा रहेकाले पानी ल्याउनसमेत कठिन अवस्थामा रहेको गुल्मीको इस्मा गाउँपालिका–१ स्थित उजुङमा स्थानीयले कल्पना गरेभन्दा फरक भएको छ।
सदियौंदेखि खानेपानीको लागि समस्यामा रहेका उजुङमावासीको पानीको समस्या समाधान भएको छ। सोही वडाकै दुनदुरे खोलाबाट लिफ्टिङमार्फत पानी तानेर अग्लो स्थानमा पुगेपछि स्थानीयको पानीको समस्या समाधान भएको हो।
१ सय ४७ घर परिवारले बसोबास गर्दै आएका स्थानीयलाई पानीको निम्ति दैनिकी बित्ने गर्दथ्यो। दैनिक ३ देखि ४ गाग्री पानीका लागि टाढा पुगेर लाइन बसेर पानी बोक्नुपर्दा त्यहाँका स्थानीयलाई दैनिकी चलाउन निकै कठिन बन्दै आएको थियो।
नजिकै भएका मुहान् सुक्दै र अली टाढा रहेका मूलमा बढ्दो जनसंख्यासँगै मूलहरू घट्दै जानाले पानीको जोहो गर्न स्थानीयको दैनिकी बित्ने गर्दथ्यो। कहीं कतै शुभकार्य पूजा, विवाह, मेला पर्वमा समेत पानीको कारणले उजुङवासीलाई निकै समस्या पर्दै आएको थियो।
केही वर्ष पहिलेबाट मोटरबाटो पुगेको उक्त स्थानमा खानेपानीको कारणले धेरै जनसंख्या अन्यत्र सर्ने क्रम पनि बढ्दै गएको थियो। पानीका कारण स्थानीयसँगै स्कुल पढ्ने विद्यार्थीलाई समेत समस्या पर्दै आएको थियो।
पानी बोक्नुुपर्ने कारण पनि त्यस स्थानमा अन्यत्रबाट छोरी दिनसमेत आनाकानी गर्ने गरेको स्थानीय बताउने गर्दथे, तर यो सबै समस्याको समाधान लिफ्टिङ खानेपानीले गरिदिएको छ। ०७० सालबाट शुरू गरिएको दुनदुरे खोला उजुङ हर्पुकोट खानेपानी ५ वर्षपछि निर्माणको काम सम्पन्न भएको हो।
नेपाल सरकारबाट ३ करोड ६९ लाखमा सम्पन्न खानेपानी आयोजनाले पानी तान्न शुरू गरेपछि स्थानीयले खुसी व्यक्त गरेको दुनदुरे खोला उजुङ हर्पुकोट खानेपानी समितिका सचिव नारायण कुँवरले बताए। ‘तत्कालको लागि अस्थायी रूपमा पानी वितरण भएको छ’, उपभोक्ता समिति सचिव कुँवरले भने– ‘केही दिनमै घर–घरमा लगेर वितरण कार्य शुरू गरिनेछ।’
हाल २ सय २७ घरले खानेपानी पिउनका लागि सदस्यता बनेको सचिव कुँवरले बताए। पानी पिउनका लागि प्रतिव्यक्ति ३ हजार ५५ रुपियाँ लाग्ने दुनदुरे खोला उजुङ हर्पुकोट खानेपानी समितिका अध्यक्ष वैकुण्ठ कुँवरले बताए।
हालका लागि केही घरले पानीको उपभोग गरिरहे तापनि एक घर एक धाराअनुसार मिटर सिस्टमले वितरण गरिने अध्यक्ष कुँवरले बताए। करिब ७ सय घरलाई पुग्ने लिफ्ट गरिएको खोनपानी ९ सय ५० मिटर तलबाट माथि ल्याइएको हो।
खानेपानी उजुङ, हर्पुकोट, हस्तिचौर, तोरिखर्क र फेदीसम्मका स्थानीयले माग गरेको समितिका सचिव कुँवरले बताए। कल्पनासमेत नगरेको ठाउँमा पानी आउँदा निकै खुसी भएको स्थानीय अर्जुन कुँवरले बताए।
‘पानी बोकेर स्कुल जाँदा विद्यार्थीलाई पनि निकै समस्या थियो’, समितिका सचिव कुँवरले भने– ‘स्थानीय निकै खुसी भएका छन्, यसले अब उनीहरूको दैनिकीमा परिवर्तन ल्याउनेछ।’ पानी बोकेरै दैनिकी बिताउनुपर्ने स्थानीयले अब त्यो समयलाई अन्य आयआर्जन र अरू काममा लगाउने उनको भनाइ छ।











प्रतिक्रिया