नेपाल समाचारपत्र, बाँके
राती १० बजेपछि हिँड्डुल गर्नेलाई कोहलपुर प्रहरीले निगरानी बढाएको छ। चोरीका घटना बढेपछि प्रहरीले रातिमा अत्यावश्यक कामबाहेक ‘डुल्न’ हिँड्नेलाई रातभरि थुन्ने नीति अघि बढाएको हो।
रातिमा अनावश्यक हिँड्ने चुल्ठे–मुन्द्रेलाई रातभरि थुनेर बिहान घरपरिवारको उपस्थितिमा कपाल काट्न लगाउने गरिएको छ। प्रहरीले यो अभियान चलाउँदा दैनिक ५÷६ जना नियन्त्रणमा परिरहेको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रवक्ता मानबहादुर बिसीले बताए। ‘लागूपदार्थ प्रयोगकर्ता, जल्लु कपाल पालेका, रफ पाइन्ट लगाएका व्यक्तिहरू रातिमा भेटिए थुन्ने गरेका छौं’, प्रवक्ता बिसीले भने– ‘भोलिपल्ट फोटो खिच्ने र आफन्तको जिम्मा लगाउँछौं।’
प्रहरी कार्यालयकै आसपासमा चोरी हुन थालेपछि प्रहरीले यस्तो अभियान चलाएको हो। चोरीका घटना बढ्दा कोहलपुरका व्यवसायी, स्थानीयवासीले प्रहरीप्रति आक्रोश पोख्दै आएका छन्। कोहलपुर प्रहरीले ‘पुराना चोर’ को पनि खोजी गरिरहेको छ। विगतमा चोरीमा लागेका र कारागारमा पुगेर फर्किएका एक दर्जन चोर कोहलपुर क्षेत्रमा रहेका छन्। चोरीकर्ममा लागेका यिनीहरूलाई प्रहरीले खोजी गरिरहेको हो।
प्रहरीले राति हिँड्नेलाई थुन्ने अभियान थालेपछि कतिपय त ताला खोल्न प्रयोग गर्ने ‘सब्बल’ सहित पक्राउ परेका छन्।
प्रहरीले रातिमा पक्राउ परेकालाई बिहान परिवारका सदस्य बोलाउने, झल्लु कपाल काट्न लगाउने, फोटो खिचेर पठाउने गरेको छ। फेरि त्यही मान्छे फोकटमा रातिमा हिँडेको पाइएमा कारबाही अघि बढाउने प्रहरीको योजना रहेको छ। रातभरि राखेर बिहान छोड्दा प्रहरीले फेरि भेटेमा कारबाही गर्ने चेतावनी दिएर छोड्ने प्रवक्ता बिसीले बताए।
प्रहरीले चोरी नियन्त्रण र विनाकाम रातिमा हिँड्नेलाई नियन्त्रण गर्न तीन वटा टोली परिचालन गरेको छ। दुई वटा ‘क्यूआरटी’ र एउटा नियमित गस्ती टोली रहेको छ।
जिल्लाको दोस्रो ठूलो शहर कोहलपुरमा लागूपदार्थ प्रयोगकर्ताको संख्या बढ्दै गएको छ। अधिकांश चोरीमा लागूऔषध प्रयोग नै संलग्न हुने गर्दछन्।











प्रतिक्रिया