विद्यार्थी चढेको बस दुर्घटना, मर्नेको संख्या २१ पुग्यो

0
Shares

नरेन्द्र केसी, घोराही, दाङ
सल्यानमा अध्ययन भ्रमण गएर दाङ फर्कंदै गरेका विद्यार्थी चढेको बस दाङको तुलसीपुर उपमहानगरपालिका–३ राम्ररीनजिक भीषण दुर्घटनामा पर्दा २१ जनाको मृत्यु भएको छ। घटनास्थलमै २० जना र १ जनाको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा मृत्यु भएको हो।

दुर्घटनामा घाइते १५ जना भेटिएका छन्। घाइतेहरूलाई तुलसीपुरमा प्राथमिक उपचारपछि नेपालगन्ज पठाइएको छ। यो वर्षदेखि सञ्चालनमा आएको घोराही–१७ स्थित शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका वन विज्ञानका विद्यार्थी अध्ययन भ्रमणका लागि सल्यानको कपूरकोट गएका थिए। २ शिक्षकसहित अध्ययन भ्रमणमा गएका विद्यार्थी चढेको बा४ख ९७६६ नम्बरको बस दुर्घटनामा परेको हो।
कपूरकोटनजिक मूलपानीमा रहेको वनस्पति उद्यान पुगेर शिक्षक विद्यार्थी फर्कदै थिए। राम्री र हरनेटीको बीच भागमा पर्ने घुम्तीमा बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेम शाहीले जानकारी दिनुभयो। दुर्घटना अबेर साँझ भएको र प्रहरी पुग्दा राति भइसकेकाले भएकाले उद्धारमा कठिनाइ आएको छ।

बसमा ३२ विद्यार्थी, २ शिक्षक र ३ गाडी स्टाप गरी ३७ जना रहेको पाइएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिनुभयो। २१ जनाको निधन भएको र १४ जना घाइते भेटिएको उल्लेख गर्दै उहाँले केही हराइरहेको आशंकामा रातिसम्म खोजी जारी राखेको जानकारी दिनुभयो। राति जेनेरेटर र ब्याट्रीको सहायताले खोजी कार्य जारी राखिएको र रातिका कारण खोजीकार्य नरोकिने उहाँले बताउनुभयो।
मृतकको सनाखत हुन सकेको छैन। पहिले घाइतेको उद्धार सिध्याएर मृतकको सनाखततर्फ लाग्ने प्रजिअ रिजालले जानकारी दिनुभयो। अपराह्न ४ बजेर ५० मिनेट जाँदा दुर्घटना भएको बस सडकभन्दा ७ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

घाइते हुनेहरू जुम्ला तातोपानी गाउँपालिका–१४ की १८ वर्षीया हिमाली हमाल, जुम्लाकै चन्दननाथ गाउँपालिका–३ का १६ वर्षीय कुशेन्द्र खत्री, सोही गाउँपालिका–४ की १६ वर्षीया पर्सा रोकाया, सोही गाउँपालिका–२ का १७ वर्षीय जीवन भण्डारी रहेका छन्। त्यसै गरी अन्य घाइतेमा दाङ घोराही उपमहानगरपालिका–१५ रतनपुरकी १७ वर्षीया समीक्षा रोकाय, घोराही उपमहानगरपालिका–१९ की १७ वर्षीया मेनुका रिजाल, अछाम मंललसेन नगरपालिकाका १९ वर्षीय युवराज ढुंगाना, रुकुम सानीभेरी गाउँपालिका–३ की १६ वर्षीया रोजिना पुन रहेका छन्। केही घाइतेको नाम खुल्न सकेको छैन।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले यही वर्ष आंगिक कलेजका रूपमा दाङमा शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय स्थापना गरेको थियो। घोराही–१७ गैरागाउँस्थित प्रावि कर्जाहीको भवनमा यो वर्षदेखि वन विज्ञान शुरु गरिएको थियो।

शिक्षालयमा ३७ जना विद्यार्थी अध्ययन गरिरहेका थिए। प्रवेश परीक्षा उत्तीर्ण गरेर सस्तो शुल्कमा अध्ययनका लागि आउने भएकाले यो शिक्षालयमा कर्णाली र सुदूरपश्चिम प्रदेशबाट समेत विद्यार्थी आएका थिए।

देउवाद्वारा दुःख व्यक्त

यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको बस शुक्रबार दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त
गर्नुभएको छ।

विपक्षी दलका नेता देउबाले शुक्रबार शोक वक्तव्य जारी गर्दै मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ। साथै उहाँले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ।