नगरिकता लिनेको छैन अभिलेख

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
२०६३ सालमा गाउँ छिरेको टोलीबाट नेपाली नागरिकता लिन सफल केही भारतीयका सन्ततिले बनाएको नागरिकता पनि अभिलेखविहीन भेटिएको छ ।

भारतमा स्थायी घर भई झूठो विवरण पेस गरी केही नेपाली बनेकाहरूका सन्ततिले बनाएको नागरिकता पनि जिल्ला प्रशासन कार्यालय पर्साको अभिलेखमा दर्ता नै नभएको भेटिएको हो। जिल्ला प्रशासन कार्यालयले पर्साले ०६९ असोज २१ मा जारी गरेको उल्लेख भएको १६५५२४७६ नम्बरको नागरिकता प्रमाणपत्र (ना.प्र.प.नं.) र ०७३ माघ १२ मा जारी गरेको उल्लेख भएको ३०२२ र ११२९७ नम्बरको नागरिकताको अभिलेख जिल्ला प्रशासन कार्यालयसँग छैन।

तर स्थायी ठेगानासमेत साविकको वीरगंन्ज उपमहानगरपालिका १ उल्लेख गरेर बनाइएको १६५५२४७६ नम्बरको नागरिकता लिने दिनेशकुमार साह र साविकको पर्साको चोर्नी गाविस ७ ठेगाना उल्लेख गरी ३०२२⁄११२९७ नम्बरको नागरिकता लिने हरिन्द्र साह तेलीको नागरिकता भने अभिलेखविहीन भेटिएका हुन्।

राहदानी बनाएर विदेश उड्ने तयारीमा रहेका साह र तेलीलाई गएको मंसिर १० र १४ गते जिल्ला प्रशासन कार्यालय पर्साबाट पक्राउ गरी अनुसन्धान गर्दा उनीहरू ०६३ मा झूठो विवरण पेस गरी नागरिकता लिनेका सन्ततिले लिएको वंशजको नागरिकता, त्यो पनि अभिलेखविहीन फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको हो। प्रहरीले पक्राउ गरेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए।

साहलाई गएको मंसिर १० गते र तेलीलाई गएको १४ गते राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पर्सामा आएको समयमा प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको उनको भनाइ छ। आफैँ झूठो विवरण पेस गरी नेपाली नागरिक बन्नेहरूले आफ्ना सन्ततिका लागिसमेत झूठो नै विवरण पेस गरिदिँदा उनीहरूका सन्ततिहरू पनि फन्दामा परेको प्रहरीको भनाइ छ।

नागरिकता बनाएर नेपालबाट राहदानी बनाई सन्ततिलाई विदेश उडाउने अभिभावकको पनि दाउ रहेको प्रहरीको अनुमान छ।