गाउँमा गाँजाकै हाराहारीमा मौलाउँदै अफिम, नष्ट गर्न प्रहरीलाई भ्याईनभ्याई

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा ।

मकवानपुरको राक्सिराङ, कैलाश, मनहरी र बकैयाका विभिन्न स्थानमा भौगोलिक बिकटताको गलत फाइदा उठाउँदै गाँजा तथा अफिम खेती हुँदै आएको तथ्य जिल्लाले तयार गरेको लागुऔषध अपराध सम्बन्धि पाश्र्वचित्रमा उल्लेख छ ।

यस सम्बन्धमा त्यस्ता स्थानमा रहेका अवैध लागुऔषध खेती नियन्त्रण तथा फँडानी र नष्ट गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न चरणमा ठूलो संख्यामा योजनावद्धरुपले प्रहरी परिचालन गर्दै आएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा प्रहरीले कुल २ सय २१ बिगाहा ४ कठ्ठाको गाँजा तथा १ सय ७ बिगाहा क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गर्ने लक्ष्य राखी तीन चरणको कार्ययोजना तयार गरेको छ ।

उक्त कार्यका लागि पहिलो चरणअन्तर्गत् खटिएको टोलीले असोज १८ गतेदेखि कार्तिक २४ गतेसम्म विभिन्न प्रभावित क्षेत्रमा १ सय ९ जना प्रहरी खटिएर २८ बिगाहा १० कठ्ठाको गाँजा र ८ बिगाहाको अफिम खेती नष्ट गरेको छ ।

जिल्लालाई गाँजामुक्त बनाउने अभियानसाथ गाँजा र अफिम फँडानी लक्ष्य लिएर गाउँ पुगेको प्रहरीलाई स्थानीयले करिब दश कठ्ठामा लगाएको अफिम स्वेच्छाले बुझाएका थिए । साबिक भार्ता गाविस वडा नम्बर–२ देखि ९ सम्म तथा राक्सिराङ गाविस वडा नम्बर–२ का गरी उक्त क्षेत्रमा गरिएको अफिम खेती गाउँलेले प्रहरीलाई बुझाएका थिए । प्रहरीले ती लागुऔषध नष्ट गरेको थियो ।

खैराङ, कालिकाटार, भार्ता र राक्सिराङसहित काँकडा, मनहरीका गरी करिब चार हजार छ सय ६० रोपनी ११ कठ्ठामा गरिएको गाँजा र अफिम खेती नष्ट गरिएको थियो । कालिकाटार–१ मा फेला परेको ५० केजी र भार्ता गाविस–६ मा भेटिएको २० केजी तयारी गाँजा गाउँमै जलाएर नष्ट गरिएको थियो ।

काँकडाको पाङ्थली, धुसाबगर, पाङ्बुङ, गोरेडाँडा, छतिवान, ताङ्कारा, भैदुल, सिलाधुनी, गिनारडाँडा, शिखाटार र सिदाम, मनहरीको देउलीडाँडा र रुपाचुरीलगायत क्षेत्र गाँजा उत्पादनको उर्वर भूमिका रुपमा चिनिन्छन् ।

अभियानका क्रममा तस्कर र प्रहरीबीच दोहोरो भिडन्तसमेत भएको थियो । भिडन्तमा मानवीय क्षति भने भएन । दश वर्ष अघिसम्म अवैध लागुऔषध गाँजा खेती गरिरहेका मकवानपुरको दुर्गम भेगका किसानले प्रतिवन्धित अफिम खेतीतिर ध्यान दिएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले संकलन गरेको गाँजा र अफिम खेतीको विवरणमा गाँजाकै हाराहारीमा अफिम खेती फैलिएको पाइएको हो ।

१० वर्ष अघिसम्म किसानले अफिम खेतीबारे खासै जानकारी राखेका थिएनन् । तर, १० वर्ष अन्तरालमा गाँजाकै हाराहारीमा अफिम खेती बढेपछि जनप्रतिनिधिसमेत चिन्तित बनेका छन् । प्रतिकेजी १ लाख रुपियाँसम्ममा अवैध बजारमा बिक्री हुने अफिम खेतीमा मकवानपुरे किसान ‘आकर्षित’ हुँदै गएको पाइएको हो ।

मकवानपुरको कैलाश र राक्सिराङ गाउँपालिकाका उच्च पहाडी भेगमा निर्वाधरुपमा गाँजा र अफिम खेती भइरहेको छ । प्रहरीले अवैध गाँजा र अफिम नष्ट गर्न योजनावद्धढंगले प्रहरी परिचालन गरिरहेको छ ।

प्रहरीका अनुसार असोज १८ देखि २४ गतेसम्म १ सय ९ प्रहरी परिचालन गरी २८ बिगाहा १० कठ्ठामा लगाइएको गाँजा तथा ८ बिगाहा अफिम फँडानी भएको थियो । दोस्रो चरणमा ३ सय ६० प्रहरी परिचालन गरी ९९ बिगाहा ७ कठ्ठा गाँजा र १३ बिगाहाको अफिम नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मधुकुमार थापाले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अझै ९३ बिगाहा ६ कठ्ठामा लगाइएको गाँजा फँडानी गर्न बाँकी छ । ८६ बिगाहामा लगाइएको अफिम नष्ट गर्ने गरी पुनः तेस्रो चरणका लागि प्रहरी परिचालन अभियान सुरु गरिएको छ ।

हाल राक्सिराङ र कैलाश गाउँपालिकाका प्रहरी चौकीमा थप जनशक्ति पठाएर गाँजा र अफिम फँडानी भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो । ‘जुन प्रहरी चौकीको क्षेत्रमा गाँजा र अफिम लगाइएको हो, त्यही चौकीमा थप जनशक्ति पठाएर फँडानी अभियान चलिरहेको छ,’ प्रनि थापाले भन्नुभयो–केही दिनमा अफिम नष्ट गरिनेछ ।

पछिल्लो समय अफिम खेती गर्नेको संख्या बृद्धि भएको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गाँजा फँडानीपछि पनि सोही जग्गामा अफिम रोप्न मिल्ने भएकोले अफिम खेती मौलाएको स्थानीयले बताएका छन् । गाउँमा अफिम खेती बढ्न थालेपछि सामाजिक गतिविधिमा असर पर्दै गएको कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले बताउनुभयो ।