लामो समयसम्म चल्दै आएको सीमा विवाद टुंगियो

0
Shares

धनवीर दाहाल, रुकुम ।
लामो समय देखिको रुकुम पूर्व र रोल्पा बिचको सीमाना ( साँध ) विवाद समाधान भएको छ । रुकुम पूर्वको भूमे गाउँपालिका ७ र रोल्पा थबाङ गाउँपालिका २ पर्ने सीमानामा दुबै तर्फका स्थानीयले विवाद गर्दै गरेका थिए । मंराखोला र बाघतारे भन्ने ठाउँमा सीमानाको विषय लिएर पटक–पटक दुई पक्षकै स्थानीयले विवाद उत्पन्न गरेका थिए ।
सीमानाको क्षेत्रमा दुबै जिल्लाका स्थानीयले खेतीपाटी गर्ने गरेका छन् । त्यसकारणले पशुचैपायको चरण लगायतको थबाङ खोला पनि सीमानामौ पर्ने भएकोले ढुङ्गा, गिट्टी, बालुवा तथा जंगलको उपयोग जस्ता कुरामा विवादित बन्दै गएको थियो ।

एक महिना अगाडि रोल्पाको थबाङ २ का स्थानीयले सामूदायिक वन समूह समिति गठन गर्दा दुबै स्थानीय बिच मनमुताव समेत भएको थियो । त्यसकारण विवाद झन चर्किदै जाँदा भूमे ७ वडा कार्यालयले विवाद समाधानको लागि दुबै जिल्लाका गाउँपालिकामा निवेदन दिएपछि गाउँपालिकाको अग्रसरतामा दुबै जिल्लाका अधिकारी सहितको जिल्ला स्तरीय नीतिगत सहमति तथा नापीको कित्ता नम्बर आधारमा सीमाना टुंगियोको छ ।

गत मंसिर २८ गतेका दिन जिल्ला स्तरीय नीतिगत निर्णयबाट पहिलेको दुबै जिल्लाको नापी कार्यालयको नक्सा अनुसार नै विवाद टुंगो लगाईएको भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताउनु भयो ।

समस्या समाधान गर्ने दुबै जिल्लाका नीतिगत रुपमा सहमति भएपछि साँध सीमाना आवश्यक छलफलबाट मिलाउने निर्णय गरियो; सोहिबमोजिम मंसिर २९ गतेका दिन दुबै जिल्लाका नापी कार्यालयबाट डोर टिम खटिएर प्रस्टसंग नै सीमाना निर्धारण गरिएको अध्यक्ष बुढाले जानकारी दिनुभयो ।

‘टोपो नक्सामा उल्लेख सीमानालाई आधार मानेर दुबै जिल्ला छुट्याउने गरि साँध कायम गरिएको छ ।’ सोहिअनुसार दुबै जिल्लाका डोर टोलीले सीमाना छुट्याएर किला ठोकिसकेका छन; अध्यक्ष बुढाले जानकारी दिनुभएको छ । त्यसैगरि रोल्पा थबाङ गाउँपालिकाका अध्यक्ष बीरबहादुर घर्ति मगरले लामो समयदेखिको विवाद समाधान भएको बताउनु भयो ।

डोर टोलीको कित्ता नम्बर अनुसार ठोकिएको किलाको आधार मानि स्थानीयले प्राकृतिक स्रोत साधनलाई उपयोग गर्ने समेत सहमति भएको र आगामी दिनमा विवाद नहुने गरि समस्याको समाधान गरिएको अध्यक्ष घर्तिले बताउनु भएको हो ।

छलफलमा रुकुम पूर्वको तर्फबाट जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्रबहादुर ओली, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगर, भूमे ७ वडा अध्यक्ष धनमान रोका र रोल्पा जिल्लाको तर्फबाट जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढा मगर, प्रमुख जिल्ला अधिकारी गजेन्द्र एमसी, थबाङ गाउँपालिकाका अध्यक्ष बीरबहादुर घर्ति मगर, थबाङ २ वडा अध्यक्ष बसन्त रोका मगर लगायतको रोहोवरमा दुबै जिल्लाका स्थानीयको छलफलबाट सीमाना विवादको समस्या समाधान भएको छ ।