घर हुँदाहुँदै भाडा लिन्छन सुदूरपश्चिमका प्रदेश साँसद

0
Shares

विमल बिष्ट, डोटी ।
काठमाण्डौमा घर भएका सांसदहरुले घर भाडा बाफत लिएको रकम फिर्ता गरीरहेका बेला सुदूरपश्चिम प्रदेशका सांसदहरु भने धमाधम घरभाडा लिईरहेका छन् । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी कैलालीमै घर भएका यहाँका सांसदहरु घरभाडा बाफतको रकम धमाधम लिईरहेको पाईएको हो ।

सुदूरपश्चिम प्रदेश स्थित संसद सचिवालयले दिएको जानकारी अनुसार प्रदेश राजधानीमा घर भएका ११ जना सांसदहरुले कैलालीमा आफनो घर नभएको भन्दै प्रतेक महिना घर भाडा बाफतको रकम लिने गरेको पाइएको हो ।

यसरी प्रदेश राजधानी धनगढीमै घर भएरपनि घर भाडा लिने सांसदहरुमा कैलाली क्षेत्र नम्बर ५ ‘ख’ बाट निर्वाचित कांग्रेस सांसद डिल्लीराज पन्त, कांग्रेसका समानुपातिक सांसद टेकबहादुर रैका, कैलाली क्षेत्र नम्बर ३ बाट निर्वाचित नेकपाका सांसद वीरमान चौधरी, नेकपाकी समानुपातिक सांसद सुशीला बुढाथोकी, राजपाकी समानुपातिक सांसद मालामती राना, कैलाली क्षेत्र नम्बर ४ को ‘क’ बाट निर्वाचित नेकपाका सांसद तथा पूर्वमन्त्री दीर्घ सोडारी, क्षेत्र नम्बर ५ को ‘क’ बाट निर्वाचित नेकपाका सांसद नेपालु चौधरी, नेकपाकी समानुपातिक सांसद चुनकुमारी चौधरी,नेपाली कांग्रेस डोटी बाट निर्वाचित सांसद भरतबहादुर खड्का उहाँकोपनि घर धनगढीमै छ, कांग्रेसकै सांसद दिव्येश्वरी शाह, कञ्चनपुरबाट समानुपातिक सांसद बनेका कांग्रेस नेता देवराज पाठक उहाँको पनि धनगढी तारानगरमा घर भएको बताईएको छ ।

संसद सचिवालयका अनुसार सभामुख र उपसभामुख बाहेक अन्य सबै सांसदहरुले घर भाडा वापतको रकम लिइरहेका छन् । मुख्यमन्त्री, मन्त्री तथा सभामुख र उप सभामुखले सरकारी आवास सुविधा पाएकाले घरभाडा नपाउने नियम रहेको छ ।

उता सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढीमा घर भएका सांसदहरुले घरभाडा बाफत रकम लिएको भन्ने सुन्नमा आएको र आफुलाई सो बिषयमा आधीकारीक जानकारी नभएको बताउनु भयो । उहाँले भन्नु भयो ‘धनगढी घर भएकाहरुले घर भाडा बुझदैछन् भन्ने हल्ला सुनेको छु,अरु मलाई थाहा भएन ।’

घर भाडावापत बिपक्षी दलको नेताले २० हजार, सत्ता पक्षको प्रमुख सचेतक र सभापतिहरुले १८ हजार, सत्ता पक्षको सचेतक र बिपक्षी दलको प्रमुख सचेतकले १८ हजार र सांसदहरुले १७÷१७ हजार रुपैयाँ मासिक रुपमा पाउने प्रावधान रहेको छ ।

त्यस्तै सांसदहरुलाई फर्निचर खर्च वाफत एकमुष्ट १÷१ लाख रुपयाँ दिने प्रावधान अनुसार सुदूरपश्चिम प्रदेशका सबै सांसदहरुले सो रकम समेत लिइसकेको बताइएको छ ।

घर भाडा वापतको रकमका लागि संसद सचिवालयमा भएको ऐन अनुसार सबै सांसदहरुलाई घर भाडाको रकम उपलब्ध गराइएको संसद सचिवालयका सचिव बलराम शर्माले बताउनु भयो । ‘ऐनमा व्यबस्था भए अनुसारको रकम सबै सांसद ज्यूहरुले बुझनुु भाको छ, उहाँले भन्नु भयो ‘मेरो घर धनगढीमै छ म लिन्न भनेर कसैले पनि भन्नु भाको छैन् ।’

सांसद सचिवालयका पदाधीकारीको सेवा सुविधा तथा तलव भत्तामा मात्रै मंसिर सम्म ३ करोड ८६ लाख ३८ हजार ६ सय १२ रुपैयाँ खर्च भएको संसद सचिवालयका सचिव शर्माले बताउनु भयो । उहाँले धारा बिजुलीको २ हजार, सञ्चार सुविधा वापत ३ हजार सबै सांसदहरुले लिने गरेको जानकारी दिनु भयो ।