प्राविधिक शिक्षामा विध्यार्थीको आकर्षण बढ्दै

0
Shares

प्रताप बानियाँ, म्याग्दी ।

प्राविधिक शिक्षा अध्ययनका लागि विद्यार्थीहरुको आकर्षण बढ्दै जान थालेको छ । सामान्य शिक्षा अध्ययन गरेर स्वदेशमा रोजगारको खासै अवसर नपाइने भएपछि पछिल्लो समय प्राविधिक धारतर्फको शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीहरुको आकर्षण बढेको हो ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७, विम गाउँमा सञ्चालित किसानी प्राविधिक शिक्षालयमा विगत केही वर्षयता विद्यार्थीहरुको आकर्षण बढ्दै गएको छ । किसानी माध्यमिक विद्यालय परिसरमा सञ्चालित प्राविधिक शिक्षालयमा म्याग्दी जिल्लासहित देशका विभिन्न जिल्लाबाट विद्यार्थीहरु अध्ययन गर्न आएको किसानी प्राविधिक शिक्षालयले जनाएको छ ।

हाल उक्त प्राविधिक शिक्षालयमा नेपालका १८ ओटा जिल्लाका विद्यार्थीहरु अध्ययनरत रहेको किसानी प्राविधिक शिक्षालयका प्रशिक्षक यनबहादुर क्षत्रीले जानकारी दिए । उनका अनुसार सो प्राविधिक शिक्षालयमा म्याग्दी, पर्वत, बागलुङ, मुस्ताङ, कास्की, हुम्ला, डोल्पा, दैलेख, जाजरकोट, अछाम, कैलाली, प्युठान, गुल्मी जिल्लाबाट विद्यार्थीहरु शिक्षा लिन आएका छन् । देशको पूर्वभन्दा पनि पश्चिम क्षेत्र हालको प्रदेशनम्बर ५ र ६ अन्तर्गत रहेका जिल्लाहरुबाट अधिकांश विद्यार्थीहरु आउने गरेको उनले बताए ।

विममा सञ्चालित किसानी प्राविधिक शिक्षालयमा कृषि अन्तर्गत ३ वर्षे बाली विज्ञान, ३ वर्षे पशु विज्ञान, १८ महिने जेटिएसम्बन्धी विषयमा अध्ययन अध्यापन हुने गरेको प्रशिक्षक क्षत्रीको भनाइ छ । २०६८ सालमा सिटिइभिटी अन्तर्गत स्थापना भएको प्राविधिक शिक्षा अध्ययन गर्न विद्यार्थीहरुको बिचमा प्रतिस्पर्धाको माध्यमबाट भर्ना लिने गरिएको छ । प्राविधिक शिक्षा आजको आवश्यकता भनेजस्तै प्राविधिक शिक्षा अध्ययनका लागि विद्यार्थीहरुमा उत्साह रहेको प्रशिक्षक क्षत्रीले बताएका छन् । प्राविधिक शिक्षामा स्थानीयदेखि बाहिरी जिल्लाका विद्यार्थीहरुले चासो दिएका छन् । अहिले उक्त शिक्षालयमा मात्रै विभिन्न विषयका ९ जना प्रशिक्षक तथा कर्मचारीहरु कार्यरत छन् ।

पछिल्लो समय प्राविधिक शिक्षा अध्ययनका लागि जेटिएतर्फ ४० र ओजिटीमा २७ जना विद्यार्थीहरुले अध्ययन गर्दै आइरहेका छन् । विममा प्राविधिक शिक्षालय स्थापना र सञ्चालनका लागि समुदाय तथा किसानी माविले ठूलो प्रयास गरेको थियो । प्राविधिक शिक्षालयमा दक्ष जनशक्ति तथा स्रोतसाधनको व्यवस्थापन, विद्यार्थीको आकर्षण बढाउन विभिन्न कार्यक्रम सञ्चालन, भौतिक पूर्वाधार विकासको अभाव रहेको किसानी माविका प्रधानाध्यापक जंगबहादुर गर्बुजाले बताए । उनले शिक्षालयको तर्फबाट सम्बन्धित निकायमा पटकपटक पहल र ध्यानाकर्षण गरिए पनि आवश्यकता अनुसारको सहयोग उपलब्ध हुन नसकेको गुनासो गरेका छन् ।

यता मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले प्राविधिक शिक्षालय सञ्चालन र व्यवस्थापनका लागि आवश्यक सहयोग गरिने बताइन् । विमको साथै म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वर मावि तोरीपानीमा प्राविधिक धारतर्फ इन्जिनियरिङ कक्षा सञ्चालन गरिएको छ भने सदरमुकाम बेनीस्थित प्रकाश माविमा विज्ञान विषयको पढाई हुँदै आएको छ । अन्य शिक्षा पढेर स्वदेशमा खासै रोजगारको अवसर नपाइने हुँदा आफूहरुले प्राविधिक शिक्षा अध्ययन गरेको विद्यार्थीहरु बताउँछन् ।

जिल्लामा सञ्चालित प्राविधिक शिक्षाको विकासका लागि सम्बन्धित क्षेत्रले विशेष ध्यान दिनुपर्छ ।