धनवीर दाहाल, रुकुम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुकुम पश्चिमले सुदृढ पार्टी र जनउत्तरदायी सरकार निर्माणका लागि सुझाव संकलन अभियान लिएर गाउँमा गएको छ । तीनवटा कमाण्ड विभाजन गरेर अभियानका लागि नेकपा गाउँ गएको हो ।
जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यहरुले प्रत्येक कमाण्डको नेतृत्व गरिरहेका छन् । मुसीकोट नगरपालिका र त्रिवेणी गाउँपालिका कमाण्डको नेतृत्व केन्द्रिय सदस्य शेरबहादुर केसी, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका कमाण्डको नेतृत्व केन्द्रिय सदस्य राजकुमार शर्मा तथा आठबीसकोट नगरपालिका र बाँफिकोट गाउँपालिका कमाण्डको नेतृत्व केन्द्रिय सदस्य बसन्तकुमार शर्माले गनुभएको छ ।
सबै कमाण्डमा पार्टीका प्रदेश कमिटी सदस्य, जिल्ला तथा गाउँपालिका स्तरीय नेता कार्यकर्ताहरुको सहभागिता रहेको नेकपाका जिल्ला संयोजक महेन्द्र केसी (पारसमणि)ले जानकारी दिनुभयो । उहाँका अनुसार मुसीकोट–त्रिवेणी कामण्डमा प्रदेश कमिटी सदस्यहरु बिमलकुमार पुन, विमला केसी, देवी ओली र जिल्ला संयोजक पारसमणि लगायत, आठबीसकोट–बाँफिकोट कमाण्डमा प्रदेश सदस्य ठगेन्द्रप्रकाश पुरी, रातो कामी लगायत र चौरजहारी–सानीभेरी कमाण्डमा प्रदेश सदस्य गोपाल शर्मा, तिर्था गौतम लगायतको सहभागीता छ ।
पार्टी एकताको सन्देश लिँदै गाउँमा पुगेर एकता प्रक्रियालाई टुंग्याउन र स्थानीय सरकारलाई कसरी जनमुखी बनाउन सकिन्छ भनेर सुझाव लिने तथा त्यसलाई मार्ग निर्देशनका रुपमा लिन अभियान संचालन गरिएको नेकपाले जनाएको छ । आइतबारबाट सुरु भएको वडा स्तरीय अभियान २५ गतेसम्म सञ्चालन हुनेछ ।
त्यस्तै २७ गतेबाट माघ ५ गतेसम्म पालिका स्तरीय सुझाव संकलन अभियान सञ्चालन हुने पार्टीका जिल्ला संयोजक पारसमणिले जानकारी दिनुभयो । केन्द्रमा पार्टी एकता भएको लामो समयसम्म पनि तल्लो स्तरमा एकता प्रक्रिया सुरु हुन नसक्दा पार्टी कार्यकर्तामा नैराश्यता पैदा भैरहेको अवस्थामा नेकपा रुकुम पश्चिमले थालेको यस अभियानले कार्यकर्तामा पनि उत्साह पैदा हुने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया