विश्वविद्यालय प्रिन्सिपलको भर्तीकेन्द्र बनेको भन्दै विद्यार्थीले गरे तोडफोड

0
Shares

मनोज भट्ट, महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका प्राचार्यले मनोमानी रुपमा शिक्षक र कर्मचारी नियुक्त गरेको भन्दै विद्यार्थी संगठनहरु आन्दोलित भएका छन् ।

विश्वविद्यालयका प्राचार्य डा. भुपेन्द्र बिष्टका बिरुद्ध यहाँका विद्यार्थी संगठन आन्दोलनमा उत्रिएका हुन । प्राचार्य बिष्टले प्रक्रिया मिचेर आफुखुसी शिक्षक तथा कर्मचारी भर्ना गरेको भन्दै विश्वविद्यालयमा रहेका विद्यार्थी संगठनहरुले प्राध्यापक र कर्मचारीका कुर्सी जलाएका छन् । बुधवार यहाँका चार विद्यार्थी संगठनहरुले विश्वविद्यालयका प्राध्यापक र कर्मचारीका कुर्सी जलाएका हुन ।

 प्राध्यापक र कर्मचारीका कुर्सी जलाइए

 

साथै उनिहरुले विश्वविद्यालयमा तोडफोड पनि गरेका छन् । यसअघि आइतवार पनि विद्यार्थी संगठनहरुले प्राचार्य बिष्टको पुत्ला दहनका साथै कार्यालयमा तोडफोड गरेका थिए । पूर्व एमाले निकट अनेरास्ववियु, पूर्व माओवादी केन्द्र अखिल क्रान्तिकारी, कांग्रेस निकट नेवि संघ र नेकपा विप्लव निकट विद्यार्थी संगठनले विश्वविद्यालयका नासु बिनोदराज जोशीको कुर्सी जलाएको हो । प्रक्रियानै पुरा नगरी भर्ना गरिएका शिक्षक र कर्मचारीहरुलाई खारेज गर्नु पर्ने विद्यार्थी संगठनहरुको माग रहेको छ ।

तत्काल आफ्नो माग पुरा नभए आफुहरु जस्तो सुकै कडा कदम चाल्न बाध्य हुने नेपाल विद्यार्थी संगठनका नेता किशोर जोशीले बताए । विश्वविद्यालयका प्राचार्य बिष्टले कुनै सुचना नै ननिकालेर आफुखुसीर राजनितिक भागबन्डाका आधारमा आफ्ना नातेदारहरुलाई भर्ना गरेको विद्यार्थी संगठनहरुको आरोप छ । यद्यपी प्राचार्य बिष्टले भने भागबण्डाका आधारमा नभई आवश्यकताका आधारमा शिक्षक नियुक्त गरेको दाबी गर्छन् । अहिले विश्वविद्यालयमा राखिएका शिक्षकहरु पुर्णकालिन करार नभई ‘पार्ट टाईम’का लागि मात्रै राखिएकोले कुनै सूचना अर्थात प्रावधानमा जानु नपर्ने उनी बताउँछन् ।