तालिवानसँग वार्ता गर्न अफगान टोली अबुधावी प्रस्थान


काबुल (एजेन्सी)
संयुक्त अरब इमिरेट्समा तालिबान विद्रोहीसँगको शान्ति वार्तामा सहभागी बन्न अफगान शान्ति वार्ता टोली अबु धाबी पुगेको एक अधिकारीले जानकारी दिएका छन् ।

१७ बर्ष लामो संघर्ष अन्त्य गर्न एक दिन अगाडी मात्र अमेरिका र तालिबान प्रतिनिधिबीच उक्त सहरमा वार्ता भएको हो । प्रमुख वार्ताकार अब्दुल सलाम रहिमीको नेतृत्वमा एक टोली तालिबान प्रतिनिधिमन्डलसँग वार्ता शुरु गर्न अबु धाबी पुगेको र दुवै पक्ष प्रत्यक्ष वैठकको तयारीमा जुटेको अफगान राष्टपतिका प्रवक्ता हारुन चाखनसुरीले ट्विटमार्फत जानकारी दिए ।

काबुलमा सरकासँग शान्तिवार्ताका लागि टेबुलमा तालिबानलाई ल्याउन कुटनितिक प्रयास अन्तर्गत नोभेम्बरमा राष्ट्रपति असरफ घानीले १२ सदस्यिय दलको घोषणा गरेका थिए । तालिबानले बैठकको पुष्टि गरेको छैन र सोमबार एक विज्ञप्ती मार्फत अफगान अधिकारीहरुसँग वार्ता नगर्ने आफनो पुरानो प्रतिबद्धता दोहोर्याएका थिए ।

मंगलबार जारी गरिएको नयाँ सन्देशमा तालिबानले अमेरिकी विदेश मन्त्रालयका विशेष दुत जलमय खलिलजादसँग उनीहरुले सोमबार प्रारम्भिक वार्ता गरेको उल्लेख गरेको छ ।

वार्ता जारी रहने उल्लेख गर्दै तालिबानले पाकिस्तान, साउदी अरेबिया र युएईका अधिकारीहरुसँग पनि ब्यापक छलफल गरेको र आफुले अफगानिस्तानबाट अन्तराष्ट्रिय सेना फिर्ता गर्नु पर्ने माग दोहोर्याएको बताए ।
साउदी अरेबिया, युएई र पाकिस्तान मात्र ती ३ देश हुन जसले सन् १९९६ देखि २००१ बीच पाँच बर्षको शासनकालका क्रममा तालिबान सरकारलाई मान्यता दिएका थिए । अमेरिकाले खलिलजाद र तालिबानबीच अबु धावीमा प्रत्यक्ष वार्ता गरेको पुष्टि गरेको छैन ।

अमेरिकाले सोमबार ‘संघर्ष अन्त्यका लागि अन्तर अफगान वार्तालाई प्रोत्साहन गर्नका लागि ‘ युएईको शहरमा बैठक भइरहेको र त्यहाँ खलिलजादको उपस्थित रहेको उल्लेख गरेका थिए ।