श्रीलंका राजनितिक संकट: राजपाक्षे सांसदमा प्रमुख विपक्षी नेता


कोलोम्बो (एजेन्सी)
श्रीलंकामा अप्रत्यासित राजनितिक संकटका क्रममा करिब दुई महिनासम्म प्रधानमन्त्रीको पद सम्हालेका महिन्दा राजपाक्षे मंगलबार संसदको प्रमुख विपक्षी नेता बनेका छन् ।

त्यसको केही समय अगाडी उनले प्रधानमन्त्री पदबाट राजिनामा दिएका थिए । ७३ बर्षिय राजपाक्षेले तमिल पार्टीका वरिष्ठ तमिल नेता आर सम्पथनको स्थान लिएको हो । सम्पथन सन् २०१५ देखि विपक्ष नेता थिए ।

अपदष्ठ रानिल विक्रमसिंघे पुन प्रधानमन्त्री बनेपछि देशमा ५१ दिन देखि जारी राजनितिक गतिरोध समाप्त भएको लक्षण देखिएको छ । मंगलबार बसेको पहिलो संसद बैठकमा अध्यक्ष के. जयसुर्याले विपक्षी नेतामा राजपाक्षेको नाम घोषणा गरे ।

तमिलन नेसनल अलायन्सका एमए सुमन्थरन र श्रीलंका मुस्लिम कांग्रेसका राउफ हकिमले राजपाक्षेको नियुक्तीको विरोध गरेका छन् । उनीहरुले हालै मात्र अर्को राजनितिक पार्टीमा प्रवेश गरेकोले राजपाक्षे अब संसदको सदस्य नै नभएको दावी गरेका थिए ।

राजपाक्षेले श्रीलंका पिपुल्स पार्टीको सदस्यता लिएका थिए र उनले युनाइटेड पिपुल्स फेडरेसन अलायन्स छोडेका थिए जसबाट उनी सन् २०१५ मा सांसदमा निर्वाचित भएका थिए । अध्यक्ष जयसुर्याले चुनाव समितिलाई यस विषयमा विस्तृत जानकारी उपलब्ध गराउन सुमन्थरणलाई राजपाक्षे विरुद्ध लिखित उजुरी दर्ता गर्न भनेका छन् ।

अमेरिका विक्रमसिंघेसँग काम गर्न इच्छुक
अमेरिकाले श्रीलंकाको प्रधानमन्त्री रानिल विक्रमसिंघेको पुनवहालीको सराहना गर्दै उसँग काम गर्ने इच्छा ब्यक्त गरेको छ ।

विदेश मन्त्रालयका प्रवक्ता रोबर्ट पलाडिनोले भने– हामी खुसी छौ , श्रीलंकाको नेतृत्वले विगत कयौं हप्ता देखि चलिरहेको राजनितिक संकटलाई संवैधानिक नियम तथा विधिको शासन अनुरुप समाधान गरेको छ ।

हिन्द प्रशान्तमा श्रीलंका एक महत्वपुर्ण साझेदार भएको र साझा हितका लागि द्विपक्षिय तथा क्षेत्रिय मुद्दामा सहयोग बढाउनका लागि प्रधानमन्त्री विक्रमसिंघे र उनको मन्त्रीमण्डलसँग काम गर्न इच्छुक रहेको उनले बताए ।

श्रीलंकाली राष्टपति मैत्रीपाला सिरिसेनाले अक्टोबरमा विक्रमसिंघेलाई पदबाट हटाइ उनको स्थानमा पुर्व राजनितिक दिग्गज महिन्दा राजपाक्षेलाई नियुक्त गरेका थिए । राजपाक्षेमाथि दशकौं पुरानो तमिल टाइगर विद्रोहलाई रक्तपातपुर्ण कारवाहीमा अन्त्य गरेका आरोप लागेको छ तर उनले यसको जवाफदेहिताका लागि अन्तराष्ट्रिय आह्वानलाई ठाडै अस्विकार गरिसकेका छन् ।