दुर्गाप्रसाद शर्मा, पर्वत ।
पर्वत जिल्लाको महासिला गाउँपालिकाले एकै पटक ३ सय ६६ जनालाई रोजगारी दिएको छ ।
गाउँपालिकाको एक परिवारमा एक जनालाई रोजगारी दिने उद्देश्य सहित शुरु गरेको ‘एक घर एक रोजगारी’ कार्यक्रम मार्फत पौष देखि ३ सय ६६ जनालाई रोजगारी दिएको हो । एउटै गाउँपालिकाले एकैपटक यति ठुलो संख्यामा रोजगारी दिएको संभवत मुलुककै पहिलो हो ।
गाउँपालिकाले १५ दिन खटाएको ठाउँमा स्वयँसेवकको रुपमा काम गर्ने र १५ दिन घरमै बसेर उत्पादनमा लगाउने योजना सहित रोजगारी दिएको हो । गाउँपालिकाका प्रबक्ता जीवन उच्चै ठकुरीले दिएको जानकारी अनुसार सबैभन्दा बढी २ सय २० जनालाई सडक स्वयंसेवकको रुपमा रोजगारी दिइएको छ ।
उनीहरुले सडक मर्मत, स्तरउन्नती लगायतका काम गर्नेछन । २० जनालाई शिक्षक स्वंयमसेवक बनाइएको छ भने २७ जनालाई बिद्यालय स्वयसेवक बनाएर गाउँपालिका भित्रका सबै सामुदायिक बिद्यालयमा मन्टेश्वरी पढाउने शिक्षकको रुपमा खटाउने भएको छ । गाउँ प्रहरीको रुपमा ३४ जनालाई गाउँरक्षक स्वयमसेवकको रुपमा रोजगारी दिइएको छ । यस्तै १० जना बिद्युत स्वयंसेवक, १० जना प्लम्बर, ५ जना सहकारी स्वयसेवक, ११÷११ जना कृषि र पशु स्वास्थय स्वयंसेवक, जनस्वास्थ्य स्वयंसेवक ५ जना, सामाजिक परिचालक ६ जनालाई रोजगारी दिइएको छ ।

गाउँपालिकाले पहिलो चरणमा ३ सय ७० जनालाई सिपमुलक तालिम सहित ‘महासिला बिकास स्वयमसेवक’ को रुपमा भर्ना गरेपनि दोस्रो चरणको सिपमुलक तालिम सहित ३ सय ६६ जनालाई छनौट गरिएको प्रमुख प्रशाकीय अधिकृत किसान क्षेत्रीले बताए । ‘दोस्रो चरणमा बिद्यागत तालिम दिएपछि पुर्णरुपमा स्वयंसेवक खटाउँछौ’ क्षेत्रीले भने ‘दुई महिना सम्म तालिम चलाएपछि रोजगारीमा खटिन्छन्’
महाशिला गाउँपालिकामा २ हजार २ सयबढी परिवार बसोबास गर्दै आएकोमा झण्डै एक हजार परिवार बेरोजगार रहेको गाउँपालिकाले अनुमान गरेको छ ।
सबै घरमा एकैपटक कार्यक्रम सुरु गर्न नसकेपनि अहिले ३ सय ६६ जनाबाट शुरु गरिएको गाउँपालिकाका अध्यक्ष राजु पौडेलले जानकारी दिए । १५ दिन सम्म गाउँपालिकाले खटाएको काम गरेपछि मासिक ६ हजार रुपैया दिइने र बाँकी समय घरमा काम गरि परिवारमा समेत रोजगारी आम्दानी गराउनुपर्ने सर्त समेत अनिवार्य गरिएको छ । ‘गाउँपालिका भित्र आवश्यक पर्ने शिक्षक देखि सबै जनशक्ति तयार गर्न पनि यस्तो अवधारणा अघि सारिएको छ ।’
उनले भने ‘ गाउँपालिकाले निर्माण गर्ने भौतिक पुर्वाधारमा बाहिरबाट मज्दुर ल्याउने कुरा निरुत्साहित हुने तथा ठुला मेसिन भन्दा गाउँलेलाई नै सहभागि बनाएर काम गर्दा खर्च समेत हरेक परिवारमा पुग्ने हुँदा आर्थिक अवस्थामा समेत सुधार हुने बिश्वास गाउँपालिकाको छ’ । रोजगारी पाएका सबैलाई न्युनतम पाँच लाख बराबरको दुर्घटना बिमा गराएको छ भने एउटै पोशाकमा खटाइएको छ ।

महासिला बिकास स्वयमसेवकहरुले आफुँले मात्रै होइन घरमा परिवारका सदस्यलाई समेत स्वरोजगार बनाउनुपर्ने बाध्यात्मक ब्यबस्था गरिएको छ । घर देखि गाउँ सम्म सबैतिर सम्बृद्धि र नयाँ कामको शुरुवात गर्न तथा दिगो रुपमा परिवारको आम्दानी बढाउन पनि उनीहरुलाई घरमा आम्दानी र ब्यबसाय गर्ने योजना समेत पेश गरेपछि रोजगारीको अवसर दिइएको गाउँपालिका अध्यक्ष पौडेल बताउँछन ।
‘परिवारको एक सदस्यले ६ हजार महिनामा आम्दानी गरेर झनै बेरोजगारी बढ्न सक्छ’ उनी भन्छन ‘परिवारको एउटा सदस्यले बार्षिक ५० हजार आम्दानी गर्न सक्ने योजना बनाए मात्रै सबै परिवार सुखी र सम्बृद्ध हुन्छ, त्यो संभब पनि छ’ गाउँपालिकाले रोजगारी दिने ब्यक्तिका लागि घरमा ब्यबसायिक योजना सहितको कार्ययोजना पनि बनाएको छ । आगामी पाँच बर्ष भित्र स्वयसेवकहरुका परिवारहरु पनि ब्यबसायिक बनेर राम्रो आम्दानी गर्न सक्छन ।
यसरी ब्यबसाय गर्नेहरुलाई सहकारी मार्फत ऋण दिने योजना समेत अघि सारिएको छ । उत्पादित सामाग्री पोखरा जस्ता ठुला बजार सम्म पु¥याउन ट्रकको ढुवानी खर्च गाउँपालिकाले बेहोर्ने छ । थोरै उत्पादकलाई धेरै उत्पादन बढाउन प्रोत्साहन गर्न मिनी ट्रकको भाडा अनुदान दिने ब्यबस्था भएको छ । गाउँपालिकामा रोजगारी पाएकाका परिवारका अन्य प्रत्येक सदस्यले कम्तीमा बार्षिक ६० हजार रुपैयाँ आम्दानी गरेको हुनुपर्नेछ ।











प्रतिक्रिया