विष्णुपुरामा माटो बिनै व्यवसायीक तरकारी उत्पादन

0
Shares

यमलाल भुसाल, बुटवल ।
तरकारी लगायत अन्य अन्नबाली माटोमा लगाएर मात्र उब्जिन्छ भन्ने आमधारणा छ । हुन पनि हामीमध्ये कमैले मात्र माटोबिनै तरकारी तथा अन्नबाली उत्पादन हुने गरेको सुनेका छौं ।

तर,अचेल हाम्रै गाउँठाउँमा माटोबिनै तरकारी फलाउन थालिएको छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । धेरैलाई आश्चर्य लाग्ने माटोबिनाको खेती भनेपछि पानीमा गर्ने हो कि, हावामा पो गर्ने हो भन्ने प्रश्न उठ्नु स्वभाविक नै हो । यस्तो अचम्मको किसिमको स्वाइललेस (माटोबिना) तरकारी खेती रूपन्देहीको तिलोत्तमाका तीन युवाले सुरू गरेका छन् ।

तिलोत्तमा–३ विष्णुपुरामा लुम्बिनी हाइड्रोपोलिक नेपाल नाम कृषि फर्म स्थापना गरी युवा कृषक ईश्वर पौडेल नेतृत्वमा माटोबिना नैं तरकारी खेती सुरू गरिएको हो । यस प्रकारको खेती नेपालमै पहिलो पटक भएको युवाहरुको दाबी छ । होटल म्यानेजमेन्ट अध्ययन गरेका पौडेल दश वर्ष अगाडि रोजगारीको सिलसिलामा ओमन पुगे । फाइभ स्टार होटलमा काम गर्ने उनले त्यहाँ स्वाइललेस (माटोको प्रयोगबिना) नैं विभिन्न ठाउँमा तरकारी खेती गरेको देखे । माटोबिना फलाइएका तरकारी उनले काम गर्ने फाइभस्टार/थ्रि स्टार होटलहरूमा आउने गथ्र्याे । उनले पनि नेपालमा गएर केही गर्नुपर्छ भन्ने सोचका साथ यहाँ आएर हाइड्रोपोनिक प्रविधि अपनाएर तरकारी खेती थालेका हुन् ।
यो प्रविधिको खेतीमा नरिवलको जट्टा पेलेर÷पिसेर बनाइएको कोकोपिट मसिनो धुलो गमलामा राखिन्छ ।

त्यसमा सार्नयोग्य भएको बिरुवा रोपिन्छ । नरिवलको जटा बिरुवा अड्याउनको लागि मात्र राखिने हो । यो तरिकाले खेती गर्दा श्रम शक्ति थोरै लाग्ने, पानी पनि धेरै नलाग्ने पौडेल बताउनु भयो । ‘पहिले त मलाई पनि अचम्म लाग्यो’ पौडेलभन्नु भयोे, ‘पछि अलि बुझ्दै गएपछि त्यहीँ प्रविधि अपनाएर सुख्खाग्रस्त (गर्मी) ठाउँमा पनि खेती गर्न सकिने सम्भावना देखेर घरमा आएर यो खेती प्रणाली सुरू गरेको हुँ ।’ उहांका अनुसार यो इजरायली प्रविधि हो । ‘मैले यो विषय पढेको होइन । कुनै प्राविधिक तालिम पनि लिइनँ । आफंै खोज अनुसन्धानबाट यो खेती गर्दा राम्रो हुने देखेर लागेको हुँ’ उहांको कथन छ ।

यो खेती गर्न प्लाष्टिकको ठूलो (घरजस्तै) आकारको टनेल बनाइन्छ । जहाँ बाहिरको हावादेखि कुनै पनि किरा–फट्याङ्ग्राभित्र जान सक्दैनन् । टनेलभित्र बिरूवा लगाइसकेपछि त्यसलाई हुर्कनका लागि आवश्यक पर्ने पोषक तत्व (एमपिके) र पानी पाइपमार्फत प्रत्येक बिरूवामा पुग्छ । फर्मभित्रको तापक्रम अटोमेटिक सिस्टम छ । तापक्रम बढ्यो भने अझै पङ्खा चल्छ । घट्यो भने पङ्खा आफैँ बन्द हुन्छ ।

पौडेलसहित यो खेतीमा पिताम्बर आचार्य र पुष्पा आचार्य क्रियाशील छन् । पहिलो चरणमा तीन जना मिलेर झण्डै एक विगाहा जग्गामा व्यवसायिक हाइड्रोपोनिक प्रविधिमा तरकारी खेती उत्पादन सुरू गरिएको हो । अहिलेसम्म एक करोड रूपैयाँ लगानी गरिएको उनीहरु बताउँछन् ।

फर्मका सञ्चालन आचार्य भन्नु भयो, ‘हामीहरू यस्तो खेती गर्न थाल्दा धेरैले टोलमा कसरी सम्भव होला र भन्थे । तर, अहिले फलेको तरकारी पकाएर उपभोग गर्नेदेखि बजारसम्म पु¥याउन थालेपछि सबै दंग परेका छन् ।’ अहिले लुम्बिनी हाइड्रोपोलिक कृषि फर्म हेर्न दैनिक ५० भन्दा बढी कृषकदेखि स्थानीयसम्म पुग्ने गरेका छन् ।

चार महिनाअघि सुरु गरेको यो प्रविधिको तरकारीले उत्पादन दिन थालेको छ । गोलभेंडा, काक्रो, क्याप्सीकम, करेला र सागलगायतका एक सिजनको तरकारी फर्मबाट विक्री गरिसकिएको पुष्पा बताउनु भयो ।

विषेशगरी विदेशी पर्यटकहरू आउने स्टार होटलहरूले सलादका लागि यस्ता अर्गानिक उत्पादन खोज्ने उनीहरु बताउँछन् । यो प्रविधिमा कुनै पनि विषादी प्रयोग हुँदैन । पूर्ण रूपमा अर्गानिक हुन्छ । आफूहरूले उत्पादन गरेका तरकारी बजारभाउभन्दा धेरै महंगो नहुने पुष्पाले बताउनुभयो । नेपालका केही जिल्लाहरूमा विदेशमा गएका युवाहरूले सिकेर यो प्रविधि भित्राएको देखिन्छ ।

उनीहरूले वार्षिक ८० हजार रूपैंयाँ तिर्ने गरी जग्गा लिजमा लिएका हुन् । फर्मका लागि आवश्यक तरकारीका विरूवामा पनि फर्ममै उत्पादन गरिन्छ ।

उनीहरू अहिले फर्मका लागि सबै आवश्यक पोषकतत्वहरू भारतबाटै मगाएका छन् । कसैले माटोबिनाको प्रविधि अपनाएर तरकारी खेती गर्न चाहन्छन् भने सेड निर्माणदेखि सम्पूर्ण कुराहरू सिकाइने पौडेलले बताउनु भयो । तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले व्यवसायिक तरकारी खेती गर्ने किसानहरूलाई स्थानीय सरकारले अनुदानदेखि विभिन्न क्षेत्रमा सघाउने बताउनु भयो । उहांले भन्नु भयो,‘ हामी हाम्रो नगरपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउने अभियानमा लागेका छौं । नयाँ–नयाँ प्रविधि अपनाएर तरकारी खेती गर्नेलाई हाम्रो पूर्ण साथ÷सहयोग सधै रहन्छ ।’

तिलोत्तमा नगरपालिकाले पछिल्लो समय व्यवसायिक तरकारी खेती, फूल खेती, कौशी तरकारी खेती गर्न नगरवासीलाई प्रोत्साहन गरेको छ । वरिष्ठ कृषि अधिकृत रामबहादुर खत्रीले कम जग्गामा पनि हाइड्रोपोनिक प्रविधिबाट तरकारी खेती गर्न सकिने बताए । ‘हाइड्रोलिक प्रविधि अरब राष्ट्रमा बढी गर्मी हुने र माटो कम भएका देशहरुमा प्रचलित छ’ खत्रीले भन्नु भयो ।