बिषाक्त मद्यिरा सेवनका कारण ३ को मृत्यु

0
Shares

धनवीर दाहाल, रुकुम ।
बिषाक्त मद्यिरा सेवनका कारण रुकुम पश्चिममा ३ जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–१२, जुम्लावाङका अम्मर विकको छोराको बिहेमा सहभागी भएर भोज र रक्सी खाएर सुतेका तीन जनाको आइतबार राती मृत्यु भएको हो ।

मृत्यु हुनेमा मुसिकोट नगरपालिका–११ का ४८ वर्षीय कमानसिंह सार्की, वडा नं १२ का २१ वर्र्षीय पलबहादुर बिक र सानिभेरी गाउँपालिका–९ का ६३ वर्र्षीय खम्मु कामी रहेको प्रहरीले जनाएको छ ।

बिषाक्त मद्यिरा सेवन गरेका कारण उनीहरुको मृत्यु भएको अनुसन्धानबाट खुलेकोे प्रहरी प्रमुख डिएसपी सुमित खड्काले बताउनुभयो ।

आइतबार बिहेको भोजसहित मदिरा सेवन गरेर बिहे भएकै घरमा सुतेका उनीहरू सोमबार बिहान मृत अवस्थामा फेला परेको खवर पाएपछि प्रहरी घटना स्थल पुगेको थियो ।

विषाक्त रक्सी सेवन गरेका कारण उनीहरूको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी खड्काले बताउनुभयो । सोमबार बिहानै वडा अध्यक्ष प्रेम ओलीले घटनाबारे प्रहरीलाई खबर गर्नुभएको थियो ।

एउटै कोठामा सुतेका पाँच मध्ये तीन जनाको मृत्यु भएको बताइएको छ । ती तीन जनाले सेवन गरेको रक्सी र अरू दुई जनाले सेवन गरेको रक्सी फरक फरक भएको पाइएको पनि डिएसपी खड्काले बताउनुभयो ।