काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा दुई दिनसम्म संचालन हुने ‘ईकाई प्रमुख सम्मेलन २०७५’को आईतबार एक समारोहका बीच उद्घाटन गर्नुभयो ।
उहाँले सशस्त्र प्रहरी बल नेपाल स्थापनाको छोटो समयमै एउटा महत्वपूर्ण सुरक्षा संगठनको रुपमा स्थापित भएको चर्चा गर्नुहुँदै देशभर रहेका सशस्त्र प्रहरी बल नेपालका इकाई प्रमुखहरु बीच आपसमा गहन छलफल र बिश्लेषण गरिने यस्ता सम्मेलनबाट महत्वपूर्ण निष्कर्षमा पुग्न सकिने उल्लेख गर्नुभयो ।
गृहमन्त्री थापाले संगठनलाई प्राप्त जिम्मेवारीहरु पूरागर्ने क्रममा विगतमा सम्पादन भएका कामकारवाहीहरुको सम्मेलनमा सूक्ष्मढंगले समिक्षा हुने हुँदा आगामी दिनमा अझै परिस्कृत रुपमा अगाडी बढ्न र संगठनको सुदृढीकरणमा यसले महत्वपूर्ण भूमिका खेल्नुकासाथै भविष्यमा आउन सक्ने सुरक्षा चुनौतीहरुको सामना गर्न समेत सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, विपद् व्यवस्थापन, राजश्व चुहावट नियन्त्रण लगाएतका सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त कार्यादेशहरुमा संगठनका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुबाट उल्लेखनीय कार्य सम्पादन भईरहेको चर्चा गर्नुहुँदै अन्तर्राष्ट्रिय स्तरमा समेत विश्वशान्ति स्थापनामा सशस्त्र प्रहरी बल नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।
सोही अवसरमा गृहसचिव प्रेमकुमार राईले पुनसंरचना पश्चात देशका ७७ वटै जिल्लामा सशस्त्र प्रहरी बल नेपालको कार्यालयहरु स्थापना भएको र हुने क्रममा रहेको उल्लेख गर्नुहुँदै सवै तहका कमाण्डरहरु उपस्थित हुने गरी आयोजित यस सम्मेलनले राष्ट्रको समग्र शान्ति सुरक्षाको वर्तमान अवस्थाबारे सुक्ष्म विश्लेषण हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु सीमानामा तैनाथ रहि राष्ट्रियताको जगेर्ना एवं नागरिकको सेवा, सुरक्षा, सहयोग र उद्धार गर्ने कार्यमा राज्यले सुम्पिएको दायित्व पुरा गरी आपूmलाई प्रभावकारी ढंगले परिचालन गरेर कार्यक्षेत्रमा परिणाममुखी कार्य सम्पादन गर्दै आईरहेको बताउनुभयो ।
उहाँले संगठनले मानवअधिकारको संरक्षण र संवद्र्धन, महिला तथा बालबालिकामा हुने हिंसामा शून्य सहनशीलता, भ्रष्टाचारमा शून्य सहनशीलता, लागूऔषध निषेध जस्ता सरकारका नीतिलाई कडाईकासाथ अवलम्बन गर्दै आईरहेको चर्चा गर्नुहुँदै राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई ईमान्दार, कर्तव्यनिष्ठ, व्यावसायीक र अनुशासित भई कार्यक्षेत्रमा सकृय रहन निर्देशन समेत दिनुभयो ।
सो सम्मेलनमा देशभर रहेका सशस्त्र प्रहरी बल नेपालका ईकाई प्रमुखहरु वीच राज्यद्वारा संगठनलाई प्रदान गरिएका कार्यादेशहरुलाई प्रभावकारी ढंगले पुरागर्ने र संगठनले निर्धारण गरेको प्राथमिकताका क्षेत्रहरुभित्र रहेर गहन अध्ययन, प्रस्तुतीकरण र छलफल तथा समिक्षा हुने कुरा सो अवसरमा जानकारी गराईएको थियो ।











प्रतिक्रिया