बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

0
Shares

धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिममा प्रहरीले वालिका बलात्कारको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काका अनुसार सानीभेरी गाँउपालिकाकी एक बालिकालाई बलात्कार गरेको अभियोगमा रुकुमपूर्व भूमे गाउँपालिका–९ चुनवाङका २१ वर्षीय मनोज ओलीलाई प्रहरीले पक्राउ गरेको हो ।

गत मंसिर २८ गते गोठमा बाख्रा बाँध्दै गरेकी बालिकालाई गोठभित्र लिएर जबरजस्ती करणी गरेको अभियोगमा ओलीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।

चुनवाङबाट जन्ती बनेर सानीभेरी गाउँपालिकासम्म पुगेका ओलीले गोठमा बाख्रा भित्र सारिरहेकी वालिकालाई सेल्फी खिच्ने बहानामा गोठ भित्र लगी जवरजस्ती गरेको प्रहरीले बताएको छ । डिएसपी खड्काका अनुसार सेल्फी खिचौं भनेर बालिकालाई गोठ भित्र लगी जबरजस्ती करणी गरेको र करणीपछि बालिकाले प्रहरी गुहारेपछि अभियुक्तलाई सोही दिन पक्राउ गरिएको हो । पक्राउ परेका ओलीमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच चोरीमा संलग्न अर्का किशोरलाई पनि प्रहरीले पक्राउ गरेको छ । रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका–५, हुकामका १९ वर्षीय विजय मल्ललाई चोरी गरेका सामग्री सहित प्रहरीले पक्राउ गरेको छ । मंसिर २९ गते राति त्रिवेणी गाउँपालिका–३ र ६ वडाको पर्ने झुल्नेटा बजारको इलेक्ट्रोनिक्स पसल र सुनचाँदी पसल चोरीमा संलग्न भएको आरोपमा मल्ललाई पक्राउ गरिएको हो ।

दुवै पसलबाट २ लाख ५० हजार बराबरको धनमाल चोरी भएको निवेदनको आधारमा छानबिन गर्दा उनलाई पक्राउ परेको डिएसपी खड्काले बताउनुभयो । पक्राउ परेका मल्लको साथबाट प्रहरीले ५ हजार ८ सय ३५ नगदको साथमा ५ वटा मोबाइल सेट, एउटा क्यामेरा, नमस्ते र एनसेलका केही थान रिचार्ज कडा, घडी र ताला तोड्न प्रयोग हुने सामानहरु बरामद गरेको छ ।