सरकार बन्ने बित्तिकै फु मन्तर हुँदैन: मन्त्री वास्कोटा

0
Shares

नेपाल समाचारपत्र, काभ्रे । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले सरकार गठन हुने वितिक्कै ‘फु मन्तर’ नहुने बताउनुभएको छ ।

जिल्लाको कोशिपारीस्थित चौरीदेउराली गाउँपालिकामा शुरु भएको ६ महिने रचनात्मक कृयाकलापको शुभारम्भ गर्न गोठपानी छेडा पुगेका मन्त्री गोकुल बास्कोटाले सम्बोधनका क्रममा सो कुरा बताउनुभएको हो ।

कलाकारलाई पुराना र बासी गित तथा ब्यङ्ग पस्केर जनता र कार्यकर्ताको आशा नमार्न आग्रह गर्दै उहाँले भन्नुभयो–सरकारको नयाँ अभियानलाई साथ दिन र जनतामा आशा जगाउनतर्फ केन्द्रित हुनुस् ।’

सरकारले भूमिहिन समस्या समाधान गर्न शुरु गरेको जानकारी दिँदै मन्त्री बास्कोटाले साना किसानहरुको ऋण मिनाहा गरिसकेकाले जनमुखी कार्यमा सरकार अगाडी बढेको दावी गर्नुभयो ।

अन्र्तराष्ट्रिय सम्वन्ध सुधार, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम जस्ता योजनामा सरकारले जनताकै पक्षमा काम गरिरहेको बताउँदै उहाँले जिल्लाका महत्वपूर्ण योजनामा बजेट विनियोजन गरेको स्पष्ट पार्नुभयो ।
मन्त्री बास्कोटाले देशभरका विद्यालय सुधार गर्न अभियान शुरु गरेको बताउँदै विद्यालयलाई कम्प्युटर उपलब्ध गराउने र भवन निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

सांसद गंगाबहादुर दोङ्गले डाँडापारी र कोशिपारी क्षेत्रको विकास र सम्वृद्धका लागि खानेपानी, सडक, विद्यूत्त लगायतका क्षेत्रमा बजेट विनियोजन गरिएको बताउनुभयो ।

प्रदेश सभा सांसद रत्न ढकाल, गाउँपालिका अध्यक्ष दिनानाथ गौतम, विद्यालयका प्रधानाध्यापक कमल श्रेष्ठ, पुर्व सभासद् रेणुका चौलागाई, नेपाली कांग्रेसका नेता सुरेशकुमार लामा लगायतले कोशिपारी क्षेत्रको विकास र सम्वृद्धीका लागि अभियान शुरु भएको दावी गर्नुभयो ।

विद्यालयलका प्रधानाध्यापक कमल श्रेष्ठ र अध्यक्ष दिलिप लामाले विद्यालय भवन, छात्राबास, प्रयोगशाला र सामाग्री, कम्प्युटर, शिक्षक र वाईफाई नभएको बताउनुभयो ।

स्वर्णिम सरस्वती युवा क्लव चौरी देउराली ४ गोठपानीद्वारा सरस्वती मावीमा आयोजित कार्यक्रम शुभारम्भ गर्न पुग्दा उहाँलाई सर्वसाधारणले भारीमात्राम माला र खादा लगाइदिएका थिए ।

अध्यक्ष दिपक गौतमले स्थानीय सरकार तथा विभिन्न सरोकारवाला निकायसँगको समन्वयमा ६ महिने रचनात्मक कृयाकलाप मार्फत गाउँमा नयाँ जागरण पैदा गरी सबै जात, पार्टी र क्षेत्रलाई समेटेर सम्वृद्धीको अभियान शुरु गर्न नयाँ खालको कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

भलिबल, फुटबल, नृत्य, बक्तृत्वकला, बादविवाद, निवन्ध, लोकदोहोरी प्रतियोगिता जस्ता थुप्रै रचनात्मक कृयाकलाप चौरी देउरालीका ११ वटै वडामा ६ महिनासम्म संचालन हुनेछन् । झण्डै एक हजार ब्यक्तिहरु उक्त अभियानमा सहभागि हुनेछन् ।

रचनात्मक कार्यक्रमको शुभारम्भमा पुगेका कलाकारहरु बद्री पंगेनी, राधिका हमाल, राजा राजेन्द्र पोखरेल, घमेश दुलाल, मञ्जु गौतमले गीतसंगीत प्रस्तुुत गरेका थिए ।