नेपाल समाचारपत्र, काठमाडौं । संघीय नेपालको केन्द्रीय राजधानी काठमाडौंको समृद्धिका लागि संघ, प्रदेश र महानगर मिलेर नागरिक सहभागितामा काम गर्नुपर्ने निष्कर्षका साथ २४ औं महानगर दिवस सम्पन्न भएको छ ।
उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोख्रेलले काठमाडौं (खुला संग्रहालय) महोत्सवको उद्घाटन गर्दै अवस्था हेरेर संघ, प्रदेश सरकार र महानगर मिलेर काम गर्नुपर्ने विचार राख्नुभयो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्री रविन्द्र अधिकारीले काठमाडौंका सम्पदाको बजारीकरण गरेर पर्यटन प्रवर्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
सम्पदा क्षेत्रको पुननिर्माणलाई प्राथमिकतामा राखेको बताउँदै उहाँले भन्नुभयो–विश्व सम्पदा क्षेत्रको संरक्षण र प्रवर्धनमा महानगरले नेतृत्व गर्नुपर्छ, ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सहरका धेरै काम महानगर आफैंले गर्ने बताउँदै संघ सरकारले गर्नुपर्ने सहयोगमा कमी नहुने प्रतिवद्धता जनाउनुभयो । कर्मचारी समायोजन विधेयकमाथि चर्चा गर्दै मन्त्री पण्डितले भन्नुभयो –यसमा डराउनुपर्ने कुरा केही छैन ।
प्रदेश ३ का मुख्य मन्त्री डोरमणि पौडेलले काठमाडौंलाई अभिभावक बनाउन प्रदेश सरकारका आबश्यक सहयोग र समन्वयको खाँचो नहुने प्रतिवद्धता जनाउनुभयो ।
महानगरका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंको समृद्धिका लागि महानगर हरेक कोणबाट सक्षम भएको बताउँदै सकारात्मक सोच र नागरिक सहभागिताबाट आफ्नै कार्यकालमा महानगरलाई समृद्ध र महानगरबासीलाई सुखी बनाउने दावी गर्नुभयो ।
‘हामीले धेरै काम गरेका छौं । भौतिक अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण, भौतिक पूर्वाधार निर्माण, सामाजिक विकास तथा सहरी पहुँचयुक्तताका लागि आधार तयार भइसकेको छ । यसका लागि मिलेर काम गर्नुपर्नेछ’ उहाँको भनाइ थियो ।
महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले सहभागितामुलक बिकास महानगरको लक्ष्य रहेको बताउँदै भन्नुभयो–धेरै काम गर्नुपर्नेछ, समय निश्चित छ, त्यसैले समय खर्च नगरी काम गर्दैछौं ।
काठमाडौं नगरका प्रथम सभापति जनकमान श्रेष्ठले २००७ सालदेखि गणतान्त्रिक लोकतन्त्रसम्म आइपुग्दा चाहना परिवर्तन भएको आवश्यकता पूरा नभएको टिप्पणी गर्नुभयो ।
उक्त अवसरमा पहिलो निर्वाचित सभापति जनकमान श्रेष्ठलाई सम्मान गरिएको थियो । यस्तै बहाल करतर्फ वडा २६ का दयाकुमारी पाण्डे र लक्ष्मी चपलिया पाण्डेलाई र व्यवसाय करतर्फ वडा २२ को मार्ट बटु र वडा ११ को पि एशोशिएसनलाई करदाता सम्मान प्रदान गरियो ।
काठमाडौंका परम्परागत बाजागाजाको संरक्षण तथा सिकाइमार्फत सीप पुस्तान्तरण गर्ने १२१ बटा बाद्य समूहका गुरुहरुलाई नगद २५ हजार सहित सम्मान गरिएको थियो ।
यस्तै आमसञ्चारबाट महानगरका काममाथि निगरानी गर्ने व्यक्तिगत तथा संस्थागत गरी १० जना पत्रकारलाई ५० हजार नगदसहित “महानगर शुशासन प्रवर्धन पुरस्कार २०७५” प्रदान गरियो ।
यसरी पुरस्कृत हुनेहरुमा नागरिक दैनिकबाट खिलक बुढाथोकी, कान्तिपुर दैनिकबाट दीपेन्द्रबहादुर बिष्ट, अन्नपूर्ण पोष्ट दैनिकबाट छेटु शेर्पा, नयाँ पत्रिका दैनिकबाट पुष्प ढुङ्गाना, अनलाइन खवरबाट रविन्द्र घिमिरे, १२ खरी अनलाइनबाट सुरञ्जन घिमिरे, एभिन्युज टेलिभिजनबाट रामशुभक महतो, उज्यालो एफ. एम. बाट सिल्भिया राजोपाध्याय, नेवा एफ. एम. बाट नविन महर्जन र सम्यक साप्ताहिकबाट सुगतरत्न सिन्धुराकार हुनुहुन्छ ।
महानगरमा २५ बर्ष सेवा गर्ने निर्देशक शिवराज अधिकारी, नायब सुब्बा सुरेन्द्र शाक्य र मेकानिक विकास गुरुङ्लाई दीर्घ सेवा पदक दिइएको थियो ।
महानगर दिवसकै अवसरमा पारेर महानगरको शिक्षा विभागले माध्यमिक तहका विद्यार्थीस्तरीय निबन्ध लेखन र शिक्षक स्तरीय कविता लेखन प्रतियोगिता सञ्चालन गरेको थियो । बिद्यार्थीका लागि समृद्ध नेपाल, सुखी नेपाली शीर्षक र शिक्षकका लागि समृद्ध नेपाल, मेरो सपना शीर्षक दिइएको थियो । यस्तै “मेरो काठमाडौं महानगर” विषयमा देशव्यापी खुल्ला निबन्ध प्रतियोगिता सञ्चालन गरिएको थियो ।
निवन्ध लेखन प्रतियोगितामा इनोभेटिभ इङ्लिस स्कूल, बानेश्वरका पिताम्बरी प्रियदर्शी प्रथम र काठमाडौं इन्टरनेशनल स्कूल चावहिलका उत्सव द्विवेदी द्वितीय र जनज्योती इङ्लिस स्कूल, ताहाचलका सुस्मिता गौत्तम तृतीय हुनुभयो । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १५ हजार, १० हजार र ७ हजार नगदसहित प्रमाण पत्र प्रदान गरियो ।
यस्तै शिक्षकस्तरीय कबितामा कन्या माद्यमिक बिद्यालय यट्खाका भानुभक्त विष्ट प्रथम हुनुभयो भने काठमाडौं प्रज्ञाकुञ्ज माद्यमिक बिद्यालय बानेश्वरकी सविता बराल दोश्रो हुनुभयो । यस प्रतियोगिताको तेश्रो स्थानमा ओम नेशनल स्कूल चावहिलका विजय तामाङ्ग जेभियर्स इङ्लिस स्कूल, बौद्धका अनिल पौडेल तेश्रो हुनुभयो । विजेतालाई क्रमश १५ हजार, १० हजार र ७ हजार नगदसहित प्रमाण पत्र प्रदान गरिएको थियो ।
“मेरो काठमाडौं महानगर” विषयमा देशव्यापी खुल्ला निवन्ध प्रतियोगितामा गौरादह झापाका सरोज घिमिरे पहिलो, रामेछापका प्रेमकुमार अधिकारी दोश्रो र ताप्लेजुङ्ग फुङ्गलिङ्गका रमेश भट्टराई तेश्रो हुनुभयो । उहाँहरुलाई क्रमशः ४० हजार, ३० हजार र २० हजार नगद सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा महानगरभित्रका बिद्यालयलाई “उत्कृष्ट विद्यालय पुरस्कार” प्रदान गरिएको थियो । यस क्रममा सामुदायिक विद्यालयतर्फ जनजागृति ज्ञानरश्मी माद्यमिक बिद्यालय, बालाजुलाई १ लाख ५० हजार नगदसहित व्रथम पुरस्कार दिइयो । त्यस्तै गीतामाता माद्यमिक बिद्यालय, बिजेश्वरीलाई दोश्रो र श्रम राष्ट्रिय माद्यमिक बिद्यालय, चावहिललाई तेश्रो उत्कृष्ट विद्यालय पुरस्कार दिइयो । दोश्रो र तेश्रो हुनेको पुरस्कार राशी क्रमशः ७५ हजार र ५० हजार रुपैयाँ थियो । यो पुरस्कार आधारभूत विद्यालयतर्फ पञ्चकन्या आधारभूत विद्यालयलाई ५० हजार नगदसहित सम्मानित गरियो ।
संस्थागततर्फ नयाँ बानेश्वरको भ्याली भ्यू स्कूल पहिलो, केएमसि स्कूल, बुद्धनगर दोश्रो र द एक्सेल्सियर स्कूल, स्वयम्भूलाई तेश्रो पुरस्कार प्रदान गरियो । यो पुरस्कार राशी पनि सामुदायिकजत्तिकै अर्थात् पहिलो, दोश्रो र तेश्रोलाई क्रमश? १ लाख ५० हजार, ७५ हजार र ५० हजार रुपैयाँ थियो ।
यसैबीच काठमाडौं महोत्सव पनि शुरु भएको छ । काष्ठमण्डप, यट्खा बहाल, नरदेवी, टेङ्गाल, क्षेत्रपाटी, ठमेल, ज्याठा, ठहिंटी, ढोका बहाल, असन, न्हायकंतला बाँगेमुढा, भेडासिंलगायत क्षेत्र महोत्सवमा समेटिएका छन् । त्यस्तै मछिन्द्र बहाल, किलागल, इटुम्बहाल, इन्द्रचोक, मखन, हनुमानढोका, बसन्तपुर, ओम बहाल, लगन, ब्रम्हटोल, न्हय्मून्हय्त्वाः, ओन्दे, ह्यूमतः, तुकंवहाः, जैशी देवल, कोहिटी, भीमसेनस्थान महोत्सव सञ्चालन हुने स्थान हुन् ।
महोत्सवमा काठमाडौंभित्र रहेका सबै वहाःबही, चोक, मठ मन्दिरहरुलाई सफा स्वच्छ गरी सम्बन्धित गुठी संघ संस्थाहरुले सञ्चालन गर्ने सांस्कृतिक चाल चलन र मौलिक खानपान प्रदर्शन गरिनेछ । त्यस्तै लाखे, महाकाली, पुलुकिसी जस्ता नाच प्रदर्शन हुनेछन् भने पौभा चित्र, मूर्तिलगायत प्रदर्शन र विक्रीमा राखिनेछन् । निश्चित क्षेत्रभित्र कार्यक्रम गर्ने दिनमा फुटपाथ पसलहरु र चारपांग्रे यातायातहरु पूर्ण रुपमा रोक लगाएर सञ्चालन गरिने महोत्सवको आकर्षण नेपालीपन झल्कने विविध कला संस्कृतिको संयोजन हुनेछ ।











प्रतिक्रिया