‘अभिभावकप्रति सन्ततीको दायित्व अनिवार्य’

0
Shares

 

नेपाल समाचारपत्र, काठमाडौं
छोरा–छोरीलाई आफ्ना अभिभावक प्रति उत्तरदायी र जिम्मेवार बनाउन आफ्नो कमाईको निश्चित रकम उपलब्ध गराउन अनिवार्य गर्ने तयारी गरेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले सम्पूर्ण ज्येष्ठ नागरिकको सेवा सुविधाका लागि यस्तो व्यवस्था अनिवार्य गर्ने तयारी भइरहेको बताउनु भएको छ । आफ्नो कमाइको १० प्रतिशत रकम ज्येष्ठ नागरिकका लागि जम्मा गर्नुपर्ने नियम बनाउनेबारेमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।

ज्येष्ठ नागरिक समाज नेपाल केन्द्रीय कार्यालय कलंकीको ११औँ साधारणसभामा कार्यक्रममा बोल्दै मन्त्री थापाले यस्तो बताउनु भएको हो । शनिवार आयोजित कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो–‘ज्येष्ठ नागरिकलाई वृद्धाश्रममा पठाउने वातावरण सिर्जना गर्न हुँदैन, ज्येष्ठ नागरिकको सुविधाका लागि छोराछोरीको योगदान अनिवार्य हुनुपर्छ ।’ पार्टीको घोषणापत्रमा उल्लेख गरेअनुसार आगामी बजेटमा ज्येष्ठ नागरिकका लागि मासिक ५ हजार रकम उपलब्ध गराउने र १ लाखबराबरको स्वास्थ्यबीमा उपलब्ध गराउने विषयमा छलफल भइरहेको मन्त्री थापाले बताउनुभयो ।

सोही कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री भरतमोहन अधिकारीले प्रत्येक वडामा जेष्ठ नागरिकलाई बसोबास, मनोरञ्जन, स्वास्थ्य सेवालगायतको सुविधासहितको ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र हुनुपर्ने बताउनुभयो । ज्येष्ठ नागरिकलाई परिवारमा नै राख्ने वातावरण सिर्जना गर्न प्रोत्साहन गर्ने र परिवार कोही नभएका ज्येष्ठ नागरिकलाई सरकारले विशेष सुविधा उपलब्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा इतिहासविद् ज्ञानमणि नेपाल, शिक्षाविद् निमिराज घिमिरे, नेपाल महिला उत्थान चौतारीकी अध्यक्ष कमला घिमिरे लगायतका अतिथि सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।