नेकपाको स्थायी समिति आज, चार नेताको अडानले धुम्बाराहीमा बोलाइयो बैठक

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
पार्टी एकीकरण भएको सात महिना बितिसक्दा समेत सांगठनिक एकता प्रक्रिया टुंगो लगाउन नसक्दा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सकस परेको छ।

प्रदेश कमिटीको एकता प्रक्रिया टुंगो लगाउँदा अध्यक्षद्वय ओली र प्रचण्डले पर्याप्त परामर्श नगरेको भन्दै पार्टीका शीर्ष नेताहरूले आलोचना गर्दै आएका छन्। पार्टीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा गर्न नहुने भन्दै सचिवालयका चार सदस्यले अडान लिएपछि आज शनिबार बस्ने पार्टी स्थायी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ। नेकपाका स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठले शनिबार १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराही बैठक बस्ने सूचना जारी गर्नुभएको छ।

पार्टी एकता भएपछि सचिवालय र स्थायी समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटरमै हुँदै आएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले सरकारी निवासलाई नै पार्टी कार्यालय बनाउन खोजेको भन्ने आरोप पार्टीकै नेताहरूले लगाएपछि बैठक धुम्बाराहीमा बस्न लागेको हो। गत जेठ ३ गते तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएपछि एकपटक मात्र स्थायी समितिको बैठक बसेको थियो।

विगत छ महिनादेखि स्थायी समितिको बैठक बस्न सकेको छैन। स्थायी कमिटीको बैठकमा सरकारको समीक्षा, पार्टीका तल्ला कमिटीको एकताको विषयमा छलफल हुने एजेन्डा तय भएको सचिवालयका एक सदस्यले नेपाल समाचारपत्रलाई जानकारी दिए।

पार्टीभित्रको विवाद बढ्दै गएपछि केही दिनअघि पार्टीका वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल, सचिवालयका सदस्य बामदेव गौतम र नारायणकाजी श्रेष्ठले बैठक बहिस्कार गर्नुभएको थियो। पार्टी एकता भएको ७ महिना बितिसक्दासमेत एकपटक पनि केन्द्रीय कमिटीको बैठक बस्न सकेको छैन। चार नेताले पार्टीको बैठक पार्टी कार्यालयबाटै हुनुपर्ने अडान राखेपछि आज बस्ने बैठक धुम्बाराहीमा हुन लागेको ती नेताले जानकारी दिए।