घ्याङफेदीमा डरलाग्दो दुर्घटना १८ को मृत्यु १६ घाइते

0
Shares

पूरै गाउँ शोकमा डुब्यो, मृतकको संख्या बढ्न सक्ने

शालिकराम चालिसे, नुवाकोट
नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ को घ्याङफेदीमा शुक्रबार साँझ बा३ख ३९१३ नम्बरको मिनिट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

सो गाउँपालिकाको–७ शिखरबेंसीमा घ्यावा खान आएका गाउँले घ्यावा खाएर फर्कंदै गरेको ट्रक ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ। ब्रेकफेल भएर आइचर ट्रक सडकबाट करिब ६ सय मिटर तल पुगेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। उक्त ट्रक घ्याङफेदीको घ्याङडाँडामा पुग्दा ब्रेक फेल भएर दुर्घटना हुन पुगेको उक्त दुर्घटनमा परी ज्यान जोगाउन सफल भएका थेवा तामाङले बताउनुभयो।

मृतक १८ जनामध्ये १५ जना पुरुष र ३ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो। घाइते १६ जनामध्ये ७ जनालाई काठमाडौं लगिएको छ भने अन्य ९ जनालाई के गर्ने भन्ने विषयमा अन्योल भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ। घाइतेहरूको अवस्था निकै जटिल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

उक्त ट्रकमा ४१ जना सवार रहेको स्थानीय तामाङ युवा संघका संयोजक लालबाबु तामाङले बताउनुभयो। साँझको समयमा दुर्घटना भएको हुँदा हेलिकोप्टरमार्फत उद्धार कठिन भएकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको श्रीनाथ गणको टोली र स्थानीय उद्धारमा खटिएका थिए। दुर्घटनास्थल सदरमुकाम विदुरबाट निकै टाढा र भौगोलिकरूपमा पनि विकट भएकाले घटना भएको दुईघण्टापछि मात्र प्रहरी पुग्न सकेको थियो।

दुर्घटनास्थल भीरमा रहेको र शव छरपस्ट भएकाले शव संकलनमा समस्या भएको प्रहरीले जनाएको छ। दुप्चेश्वर गाउँपालिकाले पनि घ्याङफेदीमा निकै ठूलो मानवीय क्षति भएको भन्दै सबैमा उद्धारका लागि आवान गरेको छ।

ट्रकमा क्षमताभन्दा बढी यात्रु रहेकाले दुर्घटनामा परेको ज्यान जोगाएका थेवा तामाङले बताउनुभएको छ। मृतक र घाइतेको नाम र ठेगानासमेत खुल्न सकेको छैन। दुर्घटनामा एउटै गाउँपालिको करिब १८ जनाको मृत्यु भएकाले पुरै गाउँपालिका शोकमा डुबेको छ।