पाँच वर्षदेखि थलियो बागलुङ सङ्ग्रहालय

0
Shares

गलकोट,जिल्लामा भएका ऐतिहासिक तथा धार्मिक वस्तु सङ्ग्रहित गर्नका लागि निर्माण गर्न थालिएको बागलुङ सङ्ग्रहालय पाँच वर्षदेखि अलपत्र छ । जिल्लाका आदिवासी तथा जनजातिको अगुवाइमा बागलुङ नगरपालिका–१ रामरेखा सामुदायिक वन उपभोक्ता समितिको एक रोपनी जग्गामा विसं २०७० मा निर्माण शुरु गरिएको सङ्ग्रहालय बजेट अभावका कारण थला परेको आदिवासी जनजातिका अगुवा बताउँछन् ।

“तत्कालीन जिल्ला विकास समितिमार्फत आउने आदिवासी जनजातिको बजेटले सङ्ग्रहालय निर्माण थाल्यौँ”, सङ्ग्रहालय निर्माण अभियानमा सक्रिय भएका गणेश थापाले भन्नुभयो, “निर्माण थालेको दुई वर्षपछि बजेट आउन बन्द भएपछि सङ्ग्रहालय निर्माण अलपत्र बन्यो ।”

बागलुङ जिल्लाको प्रमुख धार्मिक गन्तव्य कालिका भगवती मन्दिरको अगाडि रहेको अलपत्र सङ्ग्रहालयले मन्दिर आउने पर्यटकलाई समेत गिज्याएको छ । चार तलासम्म निर्माण गर्ने गरी शुरुमा रु पाँच लाख ७४ हजारको बजेटले काम गरेको सङ्ग्रहालयमा हालसम्म रु १९ लाख खर्च भइसकेको छ ।

अहिले सङ्ग्रहालय निर्माणस्थल अलपत्र अवस्थामा छ भने सङ्ग्रहालयको वरपर कबाडी सामान राखिएको छ । तत्कालीन आदिवासी जनजाति महासङ्घका सदस्य तेजेन्द्र थापाले स्थानीय तहले चासो देखाए अझै पनि सङ्ग्रहालय निर्माण गर्न सकिने बताउनुभयो । “स्थानीय तहको निर्वाचनपछि सङ्ग्रहालय निर्माण सम्पन्न गर्न क्रियाशील छौँ”, बागलुङ नगरपालिका वडा नं १ रामरेखाका वडाध्यक्ष दुर्गाबहादुर सार्कीले भन्नुभयो, “बागलुङ जिल्लाको पहिचान झल्कने गरी निर्माण सम्पन्न गर्ने भनेर आगमी दिनमा नगरको योजनामा समावेश गर्ने तयारीमा छौँ ।”

आगामी वर्ष नगरपालिकाले बजेट विनियोजन गरी निर्माण सम्पन्न गर्ने तयारी गरिएको बागलुङ नगरपालिकाले जनाएको छ । सङ्ग्रहालय निर्माण सम्पन्न गर्न रु झण्डै एक करोड बजेट लाग्ने अनुमान गरिएको छ ।
रासस