गैँडाकोट नगरभित्रकालाई ‘सुत्केरी आमा पोषिलो खाना’

0
Shares

नवलपरासी । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले सुत्केरी आमालाई लक्षित गरी ‘सुत्केरी आमा पोषिलो खाना’ कार्यक्रम ल्याएको छ । विपन्न समुदायलाई लक्षित यो कार्यक्रम अघि बढाइएको हो ।

गैँडाकोट नगर कार्यपालिकाले ‘सुत्केरी आमा पोसिलो खाना’ कार्यक्रमअन्तर्गत सुत्केरी आमालाई तीन हजार रुपैयाँ दिने निर्णय गरेको छ । नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कँडेलका अनुसार नगरपालिकाले आफ्नो नगरक्षेत्रभित्र सत्केरी हुने आमालाई लक्षित गरी नीति तथा कार्यक्रममा लागू गरेको हो । यसका लागि सुत्केरी महिलाले पितौँजीघाट स्वास्थ्यचौकी र सहज सामुदायिक अस्पतालमा सुत्केरी गराएको हुनु पर्नेछ ।

गैँडाकोट नगरपालिकाभित्रका दुई स्वास्थ्य संस्थामा चारपटक गर्भ परीक्षण र सुत्केरी भइसकेपछि तीनपटक स्वास्थ्य परीक्षण गराएका सुत्केरी आमाले सो सेवा प्राप्त गर्ने उपप्रमुख कँडेलको भनाइ छ ।

उनका अनुसार यो सुविधाका लागि गैँडाकोट नगरभित्र बसोबास गरेका आमाले मात्र प्राप्त गर्न सक्नेछन् । सो कार्यक्रम लागूपश्चात् गँैडाकोट नगरपालिकाले महिलाको पोषण अवस्थाको सुधार आउने विश्वास लिएको छ ।