चार गाउँपालिकामा जडिबुटीको पकेट

0
Shares

नेपाल समाचारपत्र, गोरखा
जडिवुटी खेती बिस्तारका लागि गोरखाको चार गाउँपालिका लाई पकेट क्षेत्र घोषणा गरिएको छ ।

अजिरकोट, धार्चे, बारपाक सुलिकोट र आरुघाट गाउँपालिका लाइ जडिवुटी पकेट क्षेत्र घोषणा गरिएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।
‘पकेट क्षेत्र भित्र आरुघार र बारपाक सुलिकोटको १ देखि ४ वडा समेटिएका छन्,’ डिभिजनल वन अधिकृत इमनाथ पौडेलले भन्नुभयो ‘अजिरकोट र धार्चेको भने सबै क्षेत्र समावेश भएका छन् ।’ घोषणा भएका पकेट क्षेत्रमा जडीवुटी विकास कार्यक्रम लागू गरिने उहाँले बताउनुभयो ।

सो कार्यक्रम अन्तरगत यस वर्ष करिब ९० लाख रकम विनियोजन भएको कार्यालयले जनाएको छ । संघीय सरकारबाट हस्तान्तरित सशक्त अनुदान कार्यक्रम अन्तरगत उक्त रकम प्राप्त भएको कार्यालय प्रमुख पौडेलको भनाइ छ । जडिवुटी बिकास कार्यक्रम अन्तरगत जडिवुटी भण्डारण तथा प्रशोधन केन्द्र स्थापना गर्ने, करिब ५० हजार जडिवुटी बिरुवा उत्पादन गर्ने, सहकारी मार्फत जडिवुटी उत्पादन तथा खेती बिस्तार र बजारीकरणमा जोड दिने योजना रहेको उनले जानकारी दिनुभयो ।

पकेट क्षेत्रमा जडिवुटी खेती बिस्तार गरेर उत्पादनमा बृद्धि गर्ने कार्यक्रमको मुख्य लक्ष्य रहेको उहाँको भनाइ छ । पकेट क्षेत्रमा जडिवुटी खेती बिस्तारर प्रवर्द्धनका लागी प्रदेश सरकारले चालु आर्थिक वर्ष २० लाख रकम कार्यालयलाई उपलब्ध गराएको छ ।

त्यस्तै जडीवुटीबाट गत वर्ष एक लाख ९९ हजार नौ सय राजश्व संकलन भएको कार्यालयले जनाएको छ । विभिन्न जातका कुल २२ हजार पाँच सय किलो जडिवुटी संकलन गर्न अनुमति दिइएको थियो । ‘अनुमति दिएको जति जडिवुटी संकलन हुन सकेन, दश हजार तीन सय ४६ किलोमात्र संकलन भयो, अनुमति पाएजति भएको भए राजश्व बढ्थ्यो,’ कार्यालय प्रमुख पौडेलले भन्नुभयो ।

सामुदायिक वन वाहेकका राष्ट्रिय वन क्षेत्रबाट उक्त जडिवुटी संकलन गरिएको उहाँको भनाइ छ । गोरखामा वन लसुन, सतुवा, नागवेली फल, कुरिलो, कालो मुस्ली, कुड्की, धुपी फल, बुकी फुल, लोक्ता लगायतका जडिवुटीहरु पाइने कार्यालयले जनाएको छ ।