आमा समूहलाई नागरिक शिक्षा

0
Shares

विमल बिष्ट, डोटी
डोटीको जोरायल गाउँपालिका–४ कल्माटाकी मन्धरादेवी भाट मंगलबार स्थानीय सामुदायिक भवनमा पुग्नु भयो । उहाँसंगै खिमा देवी मडै, टिकेश्वरी पाली पनि उक्त सामुदायिक भवनमा पुग्नुभयो । केही बेरमै आसपासका करीव ३० महिला उक्त समूहमा जम्मा भए । स्थानीय मसानी आमा समूहका सदस्य रहेका महिलाहरु गाउँपालिकाले प्रदान गर्ने सेवा सुविधा र ति सेवा प्राप्त गर्नका लागि नागरिकले पुरा गर्नु पर्ने प्रक्रियाका वारेमा छलफल गर्न थाले ।

बिगतमा गर्भवती जाँच, वालवालिकाहरुको पोषण, खोप र सरसफाईवारे मात्रै छलफल गर्ने महिलाहरु अचेल प्रत्येक साता बिहानै यसरीनै जम्मा भएर नागरिक शिक्षाको बिषयमा छलफल गर्छन । मन्धरीदेवी भन्नु हुन्छ ‘उहिले जिल्लाबाट पाईने सवै सेवाहरु अचेल गाउँपालिकाबाटै पाईन्छन भन्ने सुनिन्थ्यिो तर के के सेवा पाईन्छन भन्ने कुरा थाह थिएन, समूहमा छलफल गर्दै जाँदा जानकारी भयो ।’

उहाँले भन्नु भयो ‘समूहको छलफलबाट सेवा पाउनका लागि हामीले हाम्रो कर्तव्य पनि पुरा गर्नु पर्छ भन्ने पनि जानकारी भयो ।’ स्थानीय नन्दादेवी मडै समूहमा सामाजिक बिकृतिको बिषयमा पनि छलफल हुने गरेको वताउँछिन् । ‘गत साता बालविवाहको बिषयमा छलफल गरेका थियौं’ भन्दा भन्छिन् ‘२० वर्ष नभएसम्म छोराछोरीको बिहे गराए अपराध हुन्छ भन्ने जानकारी भयो ।’ कसैले सानै उमेरमा विहे गर्न लागेको जानकारी पाए आफु उनलाई सम्झाई बुझाई गर्ने नन्दाको भनाई छ ।’

समूहमा नीतिगत कुराको छलफल भएपछि सेवा लिन सहज भएको वताउनु हुन्छ कलापति मल्ल । उहाँले भन्नु भयो ‘हामी सरकारले काम गरेन भन्छौं तर हाम्रो गाउँमा भईर–हेका विकास निर्माणका वारेमा वास्ता गर्दैनौं, यसरी त भएका काम पनि राम्रा हुँदैनन् भन्ने जानकारी भयो ।’ उहाँले समूहमा भएको छलफलवाट नागरिक अधिकार र कर्तव्यको वारेमा जानकारी भएको वताउनु भयो ।

महिलाहरुको छलफललाई सहयोग गर्नुहुन्छ स्थानीय सहजकर्ता पुष्पा बोहरा । बोहराले भन्नु भयो ‘उहाँहरुले समस्या ल्याउनु हुन्छ, त्यो समस्याका बारेमा नीतिगत व्यवस्था र प्रक्रियाहरु के के छन भन्ने बिषयमा छलफल गर्छौं ।’

स्थानीय समूहहरुमा सञ्चालन गरेको नागरिक शिक्षाले आफुहरुलाई पनि काम गर्न सहज भएको जोरायल गाउँपालिका–४ का वडाध्यक्ष नन्दलाल भट्ट वताउनुहुन्छ । ‘आफुले लिने सेवाका लागि चाहिने कागजातको बिषयमा जानकारी भए सोही अनुसार तयारी गरेर आउँछन’ वडाध्यक्ष भट्ट भन्नुहुन्छ ‘यसरी आउँदा हामीहरुलाई पनि सहज हुन्छ, उहाँहरुलाई पनि झण्झट हुँदैन ।’

जोरायल गाउँपालिकाको समन्वय र युएमएनको साझेदारीमा सिड नेपाल नामक गैर सरकारी संस्थाले जोरायल गाउँपालिका १८ स्थानीय समूहहरुमा नागरिक शिक्षाको बिषयमा साप्ताहिक कक्षाहरु सञ्चालन गरिरहेको छ । नागरिकहरुलाई सचेत गराउँदै गुणस्तरीय सेवा र सुशासन कायम गर्नमा योदान पु¥याउने उद्देश्यले सञ्चालन गरिएका कक्षाहरुमा चाँर सय ५० जना सहभागि रहेको सिडका संयोजक नरेन्द्र रोकायाले वताउनु भयो ।