प्रहरी प्रभाग कोपोन्डोलको भवनको उद्घाटन

0
Shares

नेपाल समाचारपत्र, ललितपुर ।
महानगरीय प्रहरी प्रभाग कोपोन्डोलको नवनिर्मित भवनको बुधबार उद्घाटन गरियो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले एक समारोहकाबीच सो भवनको उद्घाटन गर्नुभएको हो ।

प्रहरी नायव महानिरीक्षक क्षेत्रीले प्रहरी सेवा समृद्धिका लागि नभई सन्तुष्टिका लागि भएको धारणा राख्नुभयो । प्रहरी कर्मचारीहरुले आफ्नो व्यवसायमा सन्तुष्टि भएर कार्य सम्पादन गर्नसके जुनसुकै दुःखको बेलामा पनि नागरिकले प्रहरीलाई सम्झिने उहाँको विश्वास रहेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्रबहादुर धानुकले अपराध रोकथाम, सामाजिक विकृति र विसंगति विरुद्ध जनचेतना फैलाउने प्रहरी र समुदाय मिलेर जानुपर्ने खाँचो औल्याउनुभयो ।

ललितपुर महानगरपालिका वडा –१० का वडाअध्यक्ष नरसिह व्यञ्जनकारले प्रहरीले आफ्नो कामकारवाहीबाट जनताको मन जित्नुपर्नेमा जोड दिनुभयो ।

सो भवन ललितपुर महानगरपालिका वडा नं १० कार्यालय तथा स्थानीयबासीहरुको सहयोगमा बनेको हो।भवन बनाउन २५ लाख २९ हजार एक सय ६० रुपैयाँ खर्च भएको छ । सोही अवसरमा काठमाडौंबाट ललितपुर प्रवेश गर्ने कलात्मक द्धारमा स्थापना गरिएको भगवान बुद्धको प्रतिमा समेत अनावरण गरिएको थियो ।

पाँच कोठे सो नवनिर्मित भवनमा प्रहरी नायव निरीक्षकको कमाण्डमा हाल १५ जना प्रहरी कर्मचारीहरु कार्यरत रहेका छन्।सो प्रभाग २०३७ सालमा अस्थायी प्रहरी विटको रुपमा स्थापना भई २०७२ सालमा प्रहरी प्रभागको रुपमा स्तरोन्नति भएको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो ।