काम्लो भित्र मागको सांङ्लो

0
Shares

धनवीर दाहाल, रुकुम ।
रुकुम पुर्वको रुकुमकोटमा मंगलबार उद्घाटन भएको प्रथम पर्यटन तथा सांस्कृतिक महोत्सवमा रुकुम पुर्वका स्थानीयले प्रमुख अतिथी उपप्रधानमन्त्री ईश्वर पोखरेललाई स्थानीय उत्पादन अल्लोको कोट लगाइदिए । स्थानीय उत्पादनको प्रर्बद्धन र प्रचारका लागी मात्र होइन रुकुममा पनि राष्ट्रिय गहनाकै रुपमा लिइने कोट लगाएतका कपडा उत्पादन हुन्छन् भन्ने सन्देश सरकारलाई पुर्याउनका लागी अल्लोको कोट लगाइदिएको स्थानीयले बताए ।

मायाको चिनोको रुपमा अल्लोको कोट मात्र लगाएनन् राडीपाखीबाट बुनेको कम्बल (काम्लो) र कम्बल भित्र आफ्ना माग पनि उपप्रधानमन्त्रीलाई स्थानीयले बुझाए । पुथाउत्तरगंगा गाँउपालिकाका स्थानीयले स्थानीय राडीपाखीको कम्बल र त्यसभित्र आफ्नो माग पत्र राखेका छन् । उनीहरुले जिल्लाको सदरमुकामको विवाद टुंग्याउनका लागी सहयोग गर्न अनुरोध गरेका छन् ।

यसैगरी स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्नका लागी सरकारले सहयोग गर्नुपर्ने माग समेत गरेका छन् । रुकुम पर्यटकिय क्षेत्र भएकोले यसलाई बिश्वमा चिनाउनका लागी सरकारले बिशेष कार्यक्रम ल्याउनुपर्नेमा उनीहरुले जोड दिएका छन् । स्थानीयको तर्फबाट मायाको चिनो स्थानीय उत्पादन कम्बल (काम्लो) उपप्रधानमन्त्रीलाई हस्तानतरण पुथाउत्तरगंगाबासीले गरेका थिए ।

रुकुम पूर्व सिस्ने गाउँपालिका–रुकुमकोट स्थित सहिद स्मृति र रंगशालामा महोत्सव सुरु भएको हो । पहिलो दिन महोत्सव उद्घाटनसँगै स्थानीय झा“कीहरु प्रस्तुत गरिएको छ । स्थानीय वनगारी, सिङ्गारु, पैसेरु, पञ्चेबाजा, मयुर, भूम्या, नाच लगायत रुकुम पूर्वमा गाइने तथा नाचिने सबै झाँकी पहिलो दिन प्रस्तुत गरिएको छ । महोत्सवमा ४० स्टल बुकिङ भएका छन् । स्टलमा स्थानीय उत्पादनदेखि व्यापारीक सामग्री समेत राखिएको छ । महोत्सव पुस ५ गते सम्म चल्ने ।

पर्यटन, सस्कृति, जडिबुटी, उद्योग र व्यापारःरुकुमपूर्वको समृद्धिका मुल आधार भन्ने नारा सहित महोत्सव आयोजना गरिएको हो । देशको ७७ औं तथा कान्छो जिल्ला बनेपछि पहिलो पटक महोत्सव भएकोे हो । जिल्लाका पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरेर पर्यटक भित्र्याएर त्यसकै माध्यमबाट जिल्लाको विकासमा टेवा पु¥याउन लक्ष राखेर महोत्सव आयोजना गरिएको अध्यक्ष दिलिप थापाले बताउनुभयो ।