आफ्नै सरकार भएको प्रदेशमा भाजपाले जिल खायाे


काठमाडाैं ।  भारतको सत्तारुढ दल भारतीय जनता पार्टी मंगलबार भारतका आफ्नै सरकार रहेको तीन ठूला प्रदेशहरुमा भएको निर्वाचनमा पछाडि परेको छ ।

ठूलो जनसंख्या भएका राज्यहरु मध्य प्रदेश, राजस्थान र छत्तिसगढबाट सत्ता गुमाउनु पर्ने भएपछि नरेन्द्र मोदीलाई अर्को वर्षको आम निर्वाचनमा असर पर्ने पक्का देखिएको छ ।

भाजपाको ठूलो हारले उप्रति ग्रामिण क्षेत्रमा असन्तुष्टि रहेको संकेत गरेको विश्लेषकहरु बताउँछन् । यसका साथै विपक्षीहरुले भाजपाविरुद्ध केही प्रदेशहरुमा बनाएको गठबन्धनले पनि उसको हारको लागि काम गरेको बताइन्छ ।

बाँकी दुई राज्यका राज्यसभा निर्वाचनमा भने क्षेत्रीय पार्टीले कंग्रेस र भाजपा दुवैलाई पछि पारेका छन् ।

पहिले आफूले गरेको बाचा अनुरुप युवाहरुको रोजगारी वृद्धि गर्न नसकेको र किसानहरुको अवस्थामा सुधार गर्न नसकेको भनेर आलोचना भए पनि अझै मोदी भारतीयहरुमाझ अन्य नेताको तुलनामा निक्कै लोकप्रिय छन ।

यो निर्वाचन प्रमुख विपक्षी पार्टी काँग्रेसका अध्यक्ष राहुल गान्धीको पनि परिक्षाको रुपमा हेरिएको थियो । उनले केही अघि देखिनै मोदीविरुद्ध क्षेत्रीय दलहरुसँग एक वृहद गठबन्धन निर्माण गर्ने प्रयास गरिरहेकाे खबर बाहिर अाएकाे थियाे  ।

भारतीय टिभी च्यानल एनडीटीभीका अनुसार पश्चिम राज्य राजस्थानको १९९ सदस्यीय राज्यसभामा कंग्रेस १०१ सीटमा अगाडि हुँदा भाजपा ८० सीटमा मात्र अगाडि रहेको छ ।

केन्द्रीय राज्य छत्तिसगढमा काँग्रेस ९० सीटमध्य ५३ सीटमा अघि रहेको छ । भाजपा भने २६ सीटमा मात्र अघि रहेको छ ।

पछिल्लो समय प्रदेश निर्वाचन भएका पाँच प्रदेशमध्य सबैभन्दा ठूलो जनसंख्या भएको मध्यप्रदेशको २३० सीटमध्य १११ मा काँग्रेस अग्रस्थानमा रहेको छ भने भाजपा ९५ सीटमा मात्रै अघि रहेको छ ।

हाल राज्यसभा निर्वाचन परिणाममा भाजपाले कंग्रेसलाई पछ्याइरहेको भएपनि यी तीन वटै राज्यमा सन् २०१४ को आम निर्वाचनमा उसले अभूतपूर्व रुपमा लगभग सबै संसदीय सीट जितेको थियो ।

निर्वाचन विश्लेषकहरुले मतपरिणाम गन्ती प्रारम्भिक अवस्थामा रहेकाले दशौँ लाख मतदाता भएका राज्यको अन्तिम मतपरिणाम अहिलेनै अनुमान गर्नु चाँडो हुने बताएका छन् ।

विगतका अनुभवले भारतका प्रदेशमा हुने निर्वाचनहरुमा स्थानीय मुद्धाहरु बढी हावि हुने गरेको देखिन्छ । तर पनि केही राजनीतिज्ञले यो निर्वाचनलाई केही महिनापछि मात्रै हुन गइरहेको आम निर्वाचनको सुचकका रुपमा हेरेका छन् ।

“भाजपाको शासन रहेका यी तीन ठूला राज्यहरुमा ठूलो कृषि जनसंख्या रहेकाले, भाजपाको अहिलेको न्यून मत परिणामलाई किसानहरु वर्तमान सरकारप्रति साँच्चै नै असन्तुष्ट रहेको देखिन्छ ,” नोमुराले एक अनुसन्धान पत्रमा भनेका छन, “आफ्नै गृह प्रदेशमा भाजपाको यस हारले विपक्षीहरुलाई आगामी आम निर्वाचन एक ठाँउमा ल्याउन र गैर–भाजपा गठबन्धन बनाउन प्रेरित गर्नेछ ।”

यस्तो गठबन्धनको लागि प्रयास गरिरहेका राहुल गान्धी भारतको चर्चित राजनीतिक वंश नेहरु–गान्धी परिवारका चौथो पुस्ताका नेता हुनुहुन्छ । उनले आम निर्वाचनलाई मध्य नजर राखेर केही समयदेखिनै क्षेत्रीय दलहरुसहितको एक वृहद गठबन्धन बनाउन प्रयास गरिरहेका छन ।