गणेश घिमिरे, इलाम
लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित नेपाली कांग्रेसका धरोहर चक्रबहादुर साउदेनको आइतबार बिहान ८० बर्षको उमेरमा निधन भएको छ । प्रजातन्त्रका सेनानी साउदेनको निधनले काँग्रेसलाई ठूलो क्षती पुगेको भन्दै काँग्रेस जिल्ला कमिटी इलामले दुख ब्यक्त गरेको छ । मृतक साउदेनको पार्थिव शरिरमा काँग्रेसको झण्डा ओढाएर आइतबारै अन्त्येष्टि गरीएको छ ।
इलाम जिल्ला सन्दकपुर गाउँपालिका वडा नम्बर ३ सुलुबुङ्ग (साविक वडा नम्बर ८) निवासि साउदेनको पार्थिव शरिरमा श्रद्धाञ्जली दिन काँग्रेस इलामका सभापति हिमालय कर्मचार्य, सचिब खगेन्द्र देवान, महासमिति सदस्य तोयानाथ भटटराई सहित जिल्ला स्तरका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती थियो । साउदेन राजनीतिकर्मी मात्र नभएर समाजसेबी, शिक्षासेवी पनि थिए । उहाँको निधनले गाउँ नै शोकमग्न बनेको सुलुबुङ्ग स्थित सरस्वती माविका शिक्षक देवीभक्त निरौलाले बताए ।
बिक्रम संबत १९९५ सालमा बाबु पूर्णबहादुर साउदेन र आमा तुलीमाया साउदेनको कोखबाट जन्मिएका साउदेनको प्रारम्भिक शिक्षा भारतको दार्जिलिङ्गमा भयो । दार्जिलिङ्गबाट मेट्रीक पास गरेर स्वदेश फर्केर शिक्षण पेशा अंगालेका थिए । इलाम र पाँचथरका बिभिन्न बिद्यालयमा शिक्षण पेशा गर्दागर्दै उनले प्रजातन्त्रकै आन्दोलनमा शहादत प्राप्त गरेका दाजु उदयबहादुर साउदेनको सपना साकार पार्न भन्दै २०१५ सालबाट नेपाली काँग्रेसको राजनीतिमा सक्रिय बने । त्यसपछि प्रजातन्त्रको आन्दोलनमा सक्रिय साउदेन २०३४ सालमा पंचायती ब्यबस्थामा काँग्रेसबाट उम्मेद्धार बन्दै सुलुबुङको प्रधानपंचमा निर्वाचित समेत भए ।
२०४६ सालको आन्दोलनमा पनि सक्रिय भूमिका निभाएका साउदेन २०४९ सालमा सुलुबुङ्ग गाविसको अध्यक्षमा अत्यधिक बहुमत ल्याएर निर्वाचित भए । सोहि सालमा तत्कालिन जिल्ला बिकास समितिको उपसभापतिमा पनि निर्वाचत बने । काँग्रेसको राजनीतिमा सक्रिय भएर अहोरात्र लागेका साउदेन २०५४ सालमा तत्कालिन गाविस अध्यक्षमा निर्वाचित हुँदै गाउँको बिकासमा लागेका थिए । नेपाली काँग्रेसको पनि बिभिन्न तह तप्कामा रहेर पनि उनले काम गरे । निडर, निष्ठावान, शिक्षासेवी र सामाजिक ब्यक्तित्वको परिचय बनाएका साउदेन नेपाली कांग्रेस सुलुबुङ्ग गाविसको अध्यक्ष भएर तीन कार्यकालसम्म चलाए ।
२०५४ सालमा नेपाली काँग्रेस जिल्ला कमिटी इलामको कार्यबाहक सभापति भएर काँग्रेसको राजनीतिलाई हाँकेका साउदेन महाधिबेशन र महासमिति सदस्यमा पटक पटक निर्वाचित भए । साउदेनले सुकुम्वासी समस्या समाधान आयोगको सदस्य पदरमा रहेर समेत काम गरे । यसै क्रममा साउदेनले पार्टीमा पुरयाएको योगदानको कदर गर्दै काँग्रेसको धरोहर साउदेनलाई नेपाली काँग्रेस जिल्ला कमिटी इलाम र सन्दकपुर गाउँपालिका काँग्रेस वडा समितिले शनिबार मात्र दोसल्ला ओढाएर उनलाई निजी निवासमै सम्मान समेत गरेको थियो ।











प्रतिक्रिया