काठमाडौं, (नेस)
परमपुजनीय गुरु श्री नारायणबाबा आश्रममा गुरुको पूर्णकदको मूर्र्ति प्राणप्रतिष्ठा गरिएको छ । शनिवार एक विशेष कार्यक्रमका वीच चन्द्रागिरी नगरपालिकास्थित मातातिर्थमा गुरुको मूर्ति महास्नान गरिएको हो ।
भारतको जयपुरमा तयार गरिएको मूर्ति २ टन ओजन र करिव ५ फिट उचाईको छ । आश्रमका बोर्ड सदस्य रमेश लस्करीको आर्थिक सहयोग र अन्य समन्वयमा मूर्ति तयार भएको बताइएको छ । आगामी बुधवारसम्म मूर्ति महास्नानका अन्य धार्मिक कार्यक्रम जारी रहने नारायणबाबा आश्रम सेवा संस्थाका कार्यसमिति अध्यक्ष विष्णुगोपाल श्रेष्ठले बताउनुभयो ।
‘शनिवार पहिलो प्राणप्रतिष्ठा सम्पन्न भएको छ, उहाँले भन्नुभयो–‘५ दिनसम्मको विविध धार्मिक विधिविधान चलिरहन्छ, आगामी बुधवार औपचारिक रुपमा प्राणप्रतिष्ठा पुरा हुनेछ ।’ आश्रम करिव १४ रोपनी क्षेत्रफलमा फैलिएको छ । त्यहाँ लामो समयदेखि बटुकलाई गुरुकूल शैलीको शिक्षा प्रदान गरिएको छ गुरुकूल शिक्षाका लागि छुट्टै गुरुकूल भवन बनाइएको छ । त्यसैगरी त्रिपुरेश्वर महादेव मन्दिर, स्वस्थानी माताको मन्दिर, गणेश मन्दिर, हनुमान मन्दिर सहित अखण्ड ज्योती समेत निर्माण गरिएको छ ।
नारायणबाबाको पहलमा पोखराको रामघाट, अर्खाखाँचीको सुपादेउराली, नेपालगञ्जको पार्वतीपुर लगायतका स्थानमा पनि आश्रम स्थापनासँगै गुरुकूल शिक्षा सञ्चालन गरिएको छ ।











प्रतिक्रिया