कांग्रेस बैठक: मस्यौदामाथिको छलफल

0
Shares

काठमाडौं, (नेस)
नेपाली काग्रेसको जारी केन्द्रीय समिति बैठकमा विधान मस्यौदामाथिको छलफल सकिएको छ । विधान मस्यौदा समितिले प्रस्तुत गरेको मस्यौदामाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सकिएपछि प्राप्त सुझावलाई शीर्ष नेताहरु बसेर परिमार्जन गर्ने आधार तय गरि औपचारिक निर्णय गर्ने तयारी भइरहेको छ ।

विधान मस्यौदामाथि ९ दिनसम्म चलेको छलफलमा ७७ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए । कांग्रेसले संघीय संरचनाअनुसार विधान परिमार्जन गर्न एक सातापछि महासमिति बैठकको आव्हान गरेको छ । विधान मस्यौदामाथिको छलफल सकिएपछि कांग्रेसको समग्र आर्थिक नीति र राजनीतिक दस्तावेजमाथि केन्द्रीय समितिमा छलफल हुनेछ । बैठक भोलि सोमबारलाई आव्हान गरिएको छ ।

सोमबार बैठक बसे राजनीतिक दस्तावेज पेस हुने

महासमिति बैठकमा पेस गरिने कांग्रेसको समग्र आर्थिक नीति केन्द्रीय समितिमा पेस भइसकेको छ भने राजनीतिक दस्तावेज भोलि सोमबार बस्ने केन्द्रीय समिति बैठकमा पेस हुने सह–महामन्त्री डा. प्रकाशशरण महतले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

महासमिति बैठकमा प्रस्तुत गरिने मुख्य एजेन्डा विधान संशोधन मस्यौदामाथिको छलफल सकिएको भन्दै उहाँले अब समग्र आर्थिक नीति र राजनीतिक दस्तवेजमाथि छलफल गरि केन्द्रीय बैठक दुई दिनभित्रै सकिने बताउनुभयो ।

कांग्रेसको सबैभन्दा माथिल्लो निकायका रुपमा रहेको महासमिति बैठक मंसिर २८ देखि पुस ३ सम्म काठमाडौंको यलम्बर पार्टी प्यालेसमा बस्दै छ । महासमिति बैठकको काठमाडौं कांग्रेसका सभापति सबुज बानिया संयोजक रहेको स्थानीय व्यवस्थापन समितिले रामशाहपथस्थित यलम्बर पार्टी प्यालेसमा सचिवालय स्थापना गरी तयारीलाई तीव्रता दिइरहेको छ ।