अभिलेखालयमा ८ सय ९४ रामायण संग्रहित

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं
राष्ट्रिय अभिलेखालयमा ८ सय ९४ राममायण संग्रहित छन् । अभिलेखालयमा रहेको रामायणमध्ये सबैभन्दा पुरानो सकसंवत् १०७६ अर्थात् विक्रम संवत् १२११ तिरहुतका राजा गाङयदेवको पालाको हो । अभिलेखालयले हालसम्म रहेका मौलिक प्रकृतिका रामायणमध्ये २ सय २२ वटालाई माइक्रोफिल्म र किताबमा संग्रहित गरी राखेको छ ।

संग्रहित भएका २ सय २२ रामायणको सम्पूर्ण सामग्री अभिलेखालयमा सुरक्षित रहेको अनुसन्धान अधिकृत मनिता न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न प्रकारका ६ सय ७२ रामायणको कपी माइक्रोफिल्मा मात्र राखिएको छ । ती राममायणको विषयमा अनुसन्धान भइरहेको न्यौपानेले जानकारी दिनुभयो । अनुसन्धानकर्ताले नेपालका विभिन्न जिल्लामा पुगेर रामायण संकलन गरेका थिए । अभिलेखालयले यो वर्ष नेवारी लिपिमा लेखिएको रामायणको पुस्तक छपाइ गर्ने तयारी गरेको छ ।

हामीलाई लाग्न सक्छ यति धेरै रामायण कसरी संग्रहित भएका होलान् । तर अभिलेखालयले सबै संग्रहलाई सुरक्षित राखेको छ । अभिलेखालयका प्रमुख शौभाग्य प्रधानांगले १३औ शाताब्दीका राजा आनन्द मल्लको पालादेखिएको रामायण सुरक्षित रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘पछिल्लो रामायणको संग्रह भानुभक्तको हो । भानुभक्तद्वारा लेखिएको रामायणको कपी सुरक्षित राखिएको छ ।’


अभिलेखालयमा रामायण मात्र होइन त्यस्ता हजारौं सम्पत्ति संरक्षण गरिएको छ । करिब ३० हजार हस्तलिखित ग्रन्थको मूल प्रति, करिब २० हजार अभिलेख, करिब ८ सय तिब्बती, ११औं १२औं शताव्दीदेखि १९औं शताव्दीसम्मका इतिहास धर्म र संस्कृतिसँग सम्बन्धित तिब्बती लिपि एवं भाषाका करिब ८ हजार हस्तलिखित ग्रन्थ संग्रह गरिएको अभिलेखालय प्रमुख प्रधानांगले जानकारी दिनुभयो ।

त्यसै गरी १ लाख ८० हजार ग्रन्थका माइक्रोफिल्मका प्रतिहरु र करिब १२ हजार प्रकाशित पुस्तकहरु, एवं ब्लकप्रिन्ट ग्रन्थहरु, राष्ट्रिय अभिलेखालय, केशर पुस्तकालय, देशका विभिन्न भूभागमा अवस्थित मठ मन्दिर तथा गुम्बाहरु तथा विभिन्न व्यक्तिहरुको निजी संग्रहमा संरक्षित मूल ग्रन्थहरुको माइक्रोफिल्म गरी संग्रह गरिएको अभिलेखालय प्रमुख प्रधानांगले जानकारी दिनुभयो ।

अभिलेखालयमा सन् ८१० ईस्वीको उत्तर लिच्छवि लिपिमा लेखिएको स्कन्दपुराण, ८औं शताव्दीकै ताडपत्रमा लेखिएको उत्तरलिच्छवि लिपिको बौद्ध दर्शनको सद्धर्मपुण्डरिकसूत्र, ११औं शताव्दीतिरको पाली भाषामा ताडपत्रमा लेखिएको विनयपिटक, यस्तै १२औं शताव्दीमा शारदा लिपिमा लेखिएको नेपालको सबैभन्दा पुरानो हस्तलिखित ग्रन्थ कारण्यव्यूहसूत्र रहेका छन्।

सन् १३८० को जयस्थिति मल्लको संसारकै प्राचीन वैधानिक कानुन ‘न्यायविकासिनि’, नेपाल संवत् २८ को आयुर्वेदसम्बन्धी ग्रन्थ लंकावतार, नवौं शताब्दीको शैवतन्त्र सम्बन्धी युनेस्कोले मेमोरी अफ द वल्र्डमा राखिएको ग्रन्थ निश्वासतत्सं, लालमोहर, सन्धि सम्झौता, ऐतिहासिक चिठीपत्रहरु, स्याहामोहर, खड्गनिशाना, सनद, सवाल, चिठीपत्र, सन्धिपत्र, इच्छापत्र, द्विछापे, रुक्का, इस्तिहार आदि रहेका छन् । यसका अतिरिक्त लगभग ३ हजार शिलापत्रका रविङ्गहरु, भूमिसम्वन्धी कागजपत्रहरु, निजामती कर्मचारीका सिटरोलहरु रहेका छन् ।

विसं २०७२ साल असोज ३ गते संविधान सभाबाट जारी भएको नेपालको संविधानको प्रमाणित प्रतिसमेत राखिएको छ । पछिल्लो समय विवादित क्षेत्र लिपुलेक, परराष्ट्र मन्त्रालयका शाहकालदेखिका कागजपत्र, कुमारीचोकका सामग्रीलगायतका महत्वपूर्ण कागजपत्र संग्रह गरी राखिएको छ ।