महासमिति बैठक यलम्बर पार्टी प्यालेसमा हुने

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
आगामी साता हुने कांग्रेस महासमिति बैठक रामशाहपथस्थित यलम्बर पार्टी प्यालेसमा हुने भएको छ। यसअघि महासमिति बैठक भृकुटीमण्डपमा हुने भनिए पनि पछिल्लोपटक पार्टी केन्द्रीय कार्यालयमै बस्ने निर्णय गरिएको थियो।

कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले जानकारी दिएअनुसार काठमाडौं जिल्ला सभापति सबुज बानियाको संयोजकत्वमा रहेको स्थानीय व्यवस्थापन समितिको सचिवालय यलम्बर पार्टी प्यालेसमा स्थापना गरी काम शुरू गरेको छ।

महासमिति बैठकलाई भव्य बनाउन अन्य विभिन्न उपसमितिहरू पनि गठन गरिएका छन्। बानियाको संयोजकत्वमा रहेको स्थानीय व्यवस्थापन समितिमा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका पदाधिकारी रहेका छन्। अन्य उपसमितिसहित स्थानीय व्यवस्थापन समितिको बैठक भोलि आइतबार बस्ने भएको छ।

स्थानीय व्यवस्थापन समितिका संयोजक बानियाले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार महासमिति बैठकमा १ हजार ४ सयको हाराहारीमा नेताहरू उपस्थित हुनेछन्। प्रत्येक क्षेत्रबाट ५ जनाको दरले महासमिति सदस्य, केन्द्रीय सदस्य र जनसम्पर्क समिति तथा भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका नेता बैठकमा सहभागी हुने भएका छन्।

महासमिति सदस्यलाई बेलुकीको खाना र बस्ने व्यवस्थाबारे अझै निक्र्योल गरिएको छैन। अहिलेसम्म बैठकमा सहभागीलाई बिहान चियानास्ता र खाना तथा दिउँसो खाजाको मात्र व्यवस्था गर्ने निर्णय भएको छ। संयोजक बानियाका अनुसार बेलुकीको खाना र बस्ने व्यवस्थाबारे निर्णय गर्न बाँकी रहेको छ।

महासमित बैठकमा प्रस्तुत हुने प्रमुख एजेन्डा विधान संशोधनको मस्यौदाबारे पार्टी केन्द्रीय कार्यालयमा छलफल भइरहेको छ। विधान मस्यौदा समितिले बुझाएको मस्यौदामाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन्। मंसिर ९ गतेदेखि जारी कांग्रेस बैठक अब एक÷दुई दिनमा सकिने केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले बताउनुभएको छ।

महासमित बैठकमा पेस गरिने कांग्रेसको समग्र आर्थिक नीति पनि केन्द्रीय समिति बैठकमा पेस भइसकेको छ। महासमित बैठकमा पेस गरिने राजनीतिक प्रतिवेदनको अन्तिम तयारी भइरहेको बताइएको छ।
कांग्रेसले संघीय संरचनाअनुसार विधान संशोधन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो भने सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा समग्र आर्थिक नीतिको प्रस्ताव तयार गर्न समिति गठन गरेको थियो। उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा राजनीतिक प्रतिवेदन तयार हुँदै छ।

केन्द्रीय समितिले पारित गरिको विधान मस्यौदा, आर्थिक नीति र राजनीतिक दस्तावेज महासमिति बैठकमा पेस हुनेछ। केन्द्रीय समितिभन्दा माथिल्लो निकायका रूपमा रहेको महासमिति बैठकले पारित गरेपछि विधाने लागू हुनेछ।